नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं. २, फिकुरीमा नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा नवीकरण तथा नयाँ दर्ता कार्यक्रम धमाधम रूपमा सञ्चालन भइरहेको छ।
वडा कार्यालयका अनुसार वडा नं. २ का पूर्ण अपाङ्ग, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सर्वसाधारण नागरिकलाई लक्षित गरी स्वास्थ्य बीमा नवीकरण र नयाँ दर्ता सेवा प्रदान गरिँदै आएको छ।

कार्यक्रम तोकिएका मिति, समय र स्थानमा प्रभावकारी रूपमा अघि बढिरहेको जानकारी दिँदै वडा अध्यक्ष बद्री देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमबाट वडावासी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएकाले सबैलाई सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार कार्यक्रम हाल धमाधम सञ्चालनमा रहेको छ।
स्वास्थ्य बीमाका लागि आवश्यक कागजातमा ज्येष्ठ नागरिकको हकमा नेपाली नागरिकताको प्रतिलिपि र सामाजिक सुरक्षा भत्ताको कार्ड, बालबालिकाको हकमा जन्मदर्ता वा अस्पतालको प्रमाणपत्र तथा पूर्ण अपाङ्गको हकमा नागरिकताको प्रतिलिपि र अपाङ्गता कार्डको प्रतिलिपि अनिवार्य गरिएको छ।
वडा कार्यालयले तोकिएको समयभित्र सबै सेवाग्राहीलाई उपस्थित भई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।