• २६ माघ २०८२, आईतवार

नुवाकोटमा झारफुकका क्रममा कुटपिट, झाक्रीको मृत्यु

नुवाकोट, माघ १४

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ अन्तर्गत घ्याङफेदी (घेवारचौर) क्षेत्रमा झारफुकका क्रममा भएको कुटपिटबाट एक झाक्रीको मृत्यु भएको छ। घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने गाउँभरि शोकको वातावरण सिर्जना भएको छ।

स्थानीय स्रोतका अनुसार झारफुक गराउन पुगेका ३३ वर्षीय रणबहादुर तामाङको उपचारका क्रममा बिरामी पक्षका बाबु–छोराबीच आपसी विवाद चर्किँदा झगडा भएको थियो। सोही विवादले उग्र रूप लिएपछि कुटपिटको अवस्था सिर्जना भएको र कुटपिटकै क्रममा रणबहादुर तामाङ भुइँमा घोप्टो परेर लडेपछि घटनास्थलमै मृत्यु भएको बताइएको छ। मृतक तामाङ घ्याङफेदी, घ्याङचौरका स्थायी बासिन्दा हुन् र स्थानीयस्तरमा झाक्रीका रूपमा परिचित थिए।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ८:४५ बजेको समयमा सोही स्थानका अन्दाजी ५२ वर्षीय ओङदी शेर्पा र उनका २५ वर्षीय छोरा कुन्साङ शेर्पाले छिमेकी रणबहादुर तामाङमाथि कुटपिट गरेका थिए। कुटपिटपछि तामाङ भुइँमा लडेको अवस्थामा मृत फेला परेका थिए।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ओङदी शेर्पा र कुन्साङ शेर्पालाई नियन्त्रणमा लिएको छ। घटनाको प्रकृति गम्भीर भएकाले प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान तीव्र बनाएको जनाएको छ।

नुवाकोट प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले घटनाबारे जानकारी दिँदै भन्नुभयो,

“घटनामा संलग्न भनिएका दुई जनालाई नियन्त्रणमा लिइसकिएको छ। घटनाको वास्तविक कारण, कुटपिटको अवस्था र मृत्युको प्रकृतिबारे थप अनुसन्धान भइरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।”

घटनापछि स्थानीय बासिन्दाले यस्ता घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्





प्रतिक्रिया दिनुहोस्