नुवाकोट । नुवाकोट क्षेत्र नं. २ मा घण्टी चुनाव चिह्नलाई लिएर अनावश्यक हल्ला फैलाइएको भन्दै नेपाली काङ्ग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह केसीले आपत्ति जनाउनुभएको छ।
नेपाली काङ्ग्रेस क्षेत्र नं. २ ले आयोजना गरेको बैठकमा बोल्दै उम्मेदवार केसीले नुवाकोटका विभिन्न गाउँगाउँमा जनतासँग प्रत्यक्ष भेटघाट गर्दा जनतामा घण्टीको माग नदेखिएको बताउनुभयो। उहाँले नेपाली काङ्ग्रेसप्रति गाउँगाउँमा व्यापक समर्थन र माग रहेको दाबी गर्नुभयो।

उम्मेदवार केसीले नेपाली काङ्ग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आ–आफ्नो स्थानीय तहमा अडिग भई संगठनलाई बलियो बनाउन आग्रह गर्नुभयो। साथै सबै कार्यकर्ता आ–आफ्नो ठाउँबाट सक्रिय रूपमा लागेमा चुनावी परिणाम हासिल हुनेमा ढुक्क हुन अनुरोध गर्नुभयो।
उक्त बैठकमा नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री बहादुर सिंह लामाको विशेष उपस्थिति रहेको थियो। बैठकमा संगठन सुदृढीकरण, घरदैलो अभियानलाई प्रभावकारी बनाउने, प्रचारप्रसारलाई व्यवस्थित गर्ने तथा मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने विषयमा छलफल गरिएको थियो।
बैठकमा सहभागी नेता तथा कार्यकर्ताले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजयी गराउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
बैठक नेपाली काङ्ग्रेस क्षेत्र नं. २ को आयोजनामा सम्पन्न भएको हो ।