नुवाकोट । आगामी ‘प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२’ लाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले नुवाकोट जिल्लामा एक हजार नेपाली सैनिक परिचालन गरिएको छ।

श्री मध्य पृतना हेडक्वाटर, हेटौडा तथा श्री नं ६ बाहिनी अड्डा धादिङबाट प्राप्त फौज परिचालन अप्रेशन निर्देशन अनुसार नेपाली सेना जिल्लाभर परिचालन गरिएको हो।
श्री शेर गणका गणपति प्रमुख सेनानी अविष्कार ढुङ्गानाका अनुसार नेपाली सेनाले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन अन्य सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गर्दै जनमानसमा सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले परिचालन गरिएको हो।
प्रमुख सेनानी ढुङ्गानाले निर्वाचन प्रक्रिया निष्पक्ष र शान्तिपूर्ण बनाउन परिचालित फौज निर्वाचनको अन्तिम नतिजा प्रकाशित नहुँदासम्म निरन्तर कार्यक्षेत्रमै रहने स्पष्ट पारे।
यस्तै, जिल्ला सुरक्षा समिति नुवाकोटले जिल्लाभरि एक सय पचास भन्दा बढी स्थानमा नेपाली सेना तैनाथ राख्ने रणनीति तयार गरेको जनाएको छ। सुरक्षा समितिको यो योजनाले जिल्लामा निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न र सम्भावित जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपाली सेनाको यो सक्रिय परिचालनले नुवाकोटमा निर्वाचन वातावरणलाई थप सुरक्षित र विश्वसनीय बनाउने विश्वास स्थानीयवासीले गरेका छन् ।