तारकेश्वर गाउँपालिकामा आयोजना गरिएको गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। वडा नं. १ दाङसिङ जब्बरेचौरमा गाउँपालिकाले निर्माण गरेको दुबोसहितको आधुनिक खेलकुद रङ्गशालामा आयोजित समारोहमा गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले प्रतियोगिताको उद्घाटन गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले रङ्गशाला निर्माणसँगै ‘धुलोमा होइन, दुबोमा खेलाउने’ आफ्नो संकल्प पूरा भएको बताउनुभयो। उहाँका अनुसार खेलकुद पूर्वाधार निर्माणले युवाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष अधिकारीले यस अवसरमा गाउँपालिकामा भएका अन्य विकास गतिविधिहरूको पनि जानकारी दिनुभयो। उहाँले अनेक अप्ठ्याराका बाबजुद गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको, १० सैयाको अस्पतालको निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको तथा दाङसिङस्थित माध्यमिक विद्यालयमा १०+२ कक्षा सञ्चालन सुरु भएको उल्लेख गर्नुभयो।
खेलकुद समाज जोड्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै उहाँले युवावर्गको एकता, जागरण र सशक्तीकरणका लागि खेलकुद विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। साथै, समृद्ध तारकेश्वर निर्माणका लागि स्थानीय सरकार, जनप्रतिनिधि र नागरिकबीच सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
उहाँले सकारात्मक सोचका साथ सबै पक्ष मिलेर विकास अभियानमा हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।