• २१ फाल्गुन २०८२, बिहीबार

नुवाकोटमा पहिलो पटक नौलो अभ्यास, निर्वाचन कर्मचारीलाई सम्मानसहित बिदाइ

नुवाकोट – नुवाकोट जिल्लामा पहिलो पटक नौलो अभ्यास गर्दै निर्वाचनमा खटिएका मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई सम्मानसहित बिदाइ गरिएको छ।

म्यागङ गाउँपालिका–३ देउरालीमा नेपाली कांग्रेसका प्रतिनिधिहरूले खादा लगाएर निर्वाचनमा खटिएका कर्मचारीहरूलाई सम्मानपूर्वक बिदाइ गरेका हुन्। निर्वाचन सम्पन्न भएपछि कर्मचारीलाई औपचारिक रूपमा सम्मान गर्दै बिदाइ गरिएको यो अभ्यास जिल्लामै पहिलो पटक भएको बताइएको छ।

नेपाली कांग्रेस क्षेत्रीय प्रवक्ता तथा म्यागङ गाउँपालिका–३ देउरालीका प्रतिनिधि विजय गुरुङका अनुसार शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरूको सम्मानका लागि यस्तो कार्यक्रम गरिएको हो।

उहाँले निर्वाचन प्रक्रियालाई सफल र मर्यादित बनाउन योगदान दिएका सबै कर्मचारी तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सकारात्मक अभ्यासलाई निरन्तरता दिने बताउनुभयो।

स्थानीय स्तरमा गरिएको यस कार्यक्रमलाई जिल्लामा नौलो र सकारात्मक अभ्यासका रूपमा हेरिएको सहभागीहरूले बताएका छन्





प्रतिक्रिया दिनुहोस्