काठमाडौं : यही जेठ ३ गते नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल अर्का उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको बालकोट पुगे ।
स्थानीय तहको चुनावी परिणाम आउन थालिसकेको अवस्थामा ओलीलाई भेट्न गएका नेताहरुले तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी नहुन पार्टी अध्यक्षलाई सुझाव दिए ।
‘अध्यक्ष ओलीको आफ्नै शैली छ त्यसलाई कतिपयले नकारात्मक लिन्छन्’ उक्त भेटमा सहभागी एक नेता भन्छन्, ‘चुनावको अन्तिम परिणामपछि अध्यक्षले जनताका बीचमा कुरा राख्नुपर्छ । तर, बीचमा बोल्दा राजनीतिक संभवनालाई असहज नहोस् भनेर अध्यक्षलाई रोकेका हौं ।’
उक्त भेटमा पार्टी फुटको असर परेको विषयमा समेत छलफल भएको नेताहरु बताउँछन् । अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले कहाँ कहाँ क्षेति पु¥याएको हो सो को यकिन विवरण तयार गनृ महासचिव पोखरेलाई आग्रह गरेका छन् । ‘चुनावको अन्तिम परिणाम आइसक्दा महासचिवले माधव नेपाल नेतृत्वको पार्टीले गरेको क्षेतिको विवरण तयार हुन्छ र त्यसमाथि पार्टीमा छलफल हुन्छ’ केपी ओली निकट नेताले भने ।
तुल्सीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उपाध्यक्ष र महासचिवहरु गएर सम्बोधन गरे । कार्यक्रम तयार हुँदा अध्यक्ष ओलीले सम्बोधन गर्ने भनिएको थियो । तर, पार्टीकै नेताहरुले आग्रह गरेपछि अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सरिक भएनन् । यसको प्रमुख कारण स्थानीय तहको चुनावको परिणाम पछि हुन सक्ने संभावित राजनीतिक कोर्सलाई नबिगार्न भएको एमालेकै नेताहरु बताउँछन् ।
एमालेका उपाध्यक्षद्धय इश्वर पोखरेल र सुवास नेम्वाङले पटक–पटक सिंहदरवारमा भेटेर छलफल गरिरहेका छन् । यी दुई नेता बुधबार प्रतिनिधि सभाको बैठक अगाडि झण्डै २ घण्टा एक्ला एक्लै सिंहदरवार स्थित नेम्वाङको कार्यकक्षमा छलफलमा जुटेका थिए । एमालेका अन्य नेताहरु पनि आन्तरिक समिक्षामा जुटेका छन् ।
स्थानीय तहको चुनाव भन्दा ठीक अगाडि बसेको एमाले संसदीय दलको बैठकमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष ओलीले संघीय संसदको टिकटका लागि आफ्नो क्षेत्रको स्थानीय तहमा पार्टीका उम्मेदवारलाई जिताएर आउन सांसदहरुलाई निर्देशित गरेका थिए । तर, चुनाव सम्पन्न भएर नतिजा आउँदा अोली नजिक रहेका नेताहरुकै पालिकाका एमाले कमजोर बन्न पुगेको छ । यो अवस्था आउनुको पछाडिका कारणहरुबारे एमालेका दोस्रो र तेस्रो तहका नेताहरु छलफलमा छन् । महासचिव पोखरेल र प्रचार प्रसार विभाग प्रमुख गुरुङले अन्य पार्टीका नेताहरुसँग समेत छलफल सुरु गरेको एमालेकै नेताहरु बताउँछन् । स्थानीय तहको चुनावले संघीय चुनावमा अप्ठ्यारो पर्ने संकेत देखा परेपछि एमाले नेताहरु तालमेल र एकता हुन सक्ने दलका नेताहरुसँग नजिकिएर छलफलमा जुटेका हुन् ।
एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ पार्टी फुटको असर देखा परेको बताउँछन् । भन्नलाई पार्टीको जनमत यथावत छ भनिए पनि परिणामले त्यस्तो नदेखिएकाले अन्य पार्टीहरुसँगको तालमेलको विषयमा एमाले खुला भएको उनको भनाई छ ।
एमाले नेताहरुका अनुसार एमाले शीर्ष नेतृत्वले माधव नेपालले पार्टी फुटाएर आफ्नो पार्टीलाई बलियो बनाउन नसकेको भएपनि एमालेलाई ०७४ को भन्दा झण्डै आधा कम शक्तिमा झार्न भूमिका खेलेको निष्कर्षमा पुगेका छन् । अर्कोतर्फ अहिलेको पाँच दलीय सत्ता गठबन्धन निरन्तर जाँदा प्रदेश र संघीय चुनावमा अपेक्षित परिणाम ल्याउन नसक्ने र संघ र सातै प्रदेश सरकारबाट एमाले बाहिर रहनुपर्ने अवस्था आउन सक्ने भएकाले यसलाई चिर्ने उपायको खोजीमा एमाले नेताहरु लागेका हुन् ।
नेता श्रेष्ठ भन्छन्, ‘हामी कम्युनिस्ट हौं । एकले अर्कोका विरुद्ध स्वस्थ प्रतिस्पर्धा गर्ने विषय जायज हो । तर, अहिले कम्युनिस्टहरु जुधेर कांग्रेसलाई सत्ता सुम्पन तयार हुने अवस्था सिर्जना भयो । यो वाम आन्दोलनको हितमा छैन् । यसमा एमाले चिन्तित छ ।’
माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेल गरेर आफु जित्ने भन्दा कांग्रेसलाई जिताउने र कम्युनिस्टको हविगत खराब गराउनेतिर ध्यान दिएको आभास भएको भन्दै उनले थपे, ‘सबैभन्दा ठूलो बाम शक्तिको हिसाबले एमालेले यसबारे ख्याल गर्नुपर्छ भन्ने हामीलाई परेको छ ।’
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायतले एमालेसँग तालमेलका लागि संकेत गरेको एमाले नेताहरुको बुझाई छ । स्वमं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि गठबन्धनबाट सन्तुष्ट नरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । यो पृष्ठभूमिमा नेकपा एकीकृत समाजवादी र एमालेका बीचमा एकता गरेर जान सकिन्छ कि भन्ने सोचमा एमालेका दोस्रो र तेस्रो तहका नेताहरु पुगेका छन् ।
नेकपा एकीकृत समाजवादीका नेताहरुसँग संवादमा रहेका एमालेका दोस्रो, तेस्रो तहका नेताहरु भन्छन्, ‘नेतृत्वले के सोच्छ भन्दा पनि हामीले वातावरण बनाउने हो । राष्ट्रको आवश्यकता र पार्टीको हीत हेर्ने कुरा हो । यसमा नेतृत्व नकारात्मक हुन सक्दैन ।’ उनीहरुका अनुसार नेकपा माओवादी केन्द्र भन्दा नेकपा एकीकृत समाजवादीसँगको एकता सहज हुन सक्छ ।
‘माओवादीसँग पार्टी एकता गरेर एउटै पार्टी भएर त्यति लामो समय चल्दा समेत कार्यकर्ताका बीचमा घुलमिलको वातावरण बन्न सकेको थिएन् । त्यो पीडाबाट आएका हामीहरुले सबैभन्दा पहिले एकीकृत समाजवादीसँग तालमेलको प्रयास गर्नु बढी लाभदायी हुने ठानेका छौं’ उनले सुनाए । तथापि, आवश्यकता र वातावरण तयार भएको खण्डमा माओवादी केन्द्रसहित सबै बामहरुलाई एक गराएर जाने विषयमा एमाले सँधै तयार रहेको उनको भनाई छ ।
यो समाचार मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित छ ।