• २९ जेष्ठ २०८३, शुक्रबार

सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउनुस्, सिंहदरबारमै हराउने होईन : नेता केसी

विदुर- प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सिंहदरबार नै डराउने प्रतिनिधि चुनेर पठाउनुपर्ने बताएका छन् ।

‘सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउनुस्, सिंहदरबारमै हराउने प्रतिनिधि नपठाउनुस्,’ नेता केसीले बिहीबार लोकतान्त्रिक वाम गठबन्धनको भेटघाट कार्यक्रम म्यागङ गाउँपालिकाको देउरालीमा सम्बोधन उक्त धारणा राखेका हुन् ।

उनले यसअघि पठाएका उम्मेदवार सिंहदरबारमै हराएकाले अहिले सिंहदबार नै डराउने खालको जनप्रतिनिधि चुनेर पठाउन मतदातालाई सुझाएका हुन् ।

नेता केसीले नेपाली जनताले पहिलोचोटी प्राप्त गरेको सार्वभौमसत्ता, संविधान रक्षाको निम्ति पाँच पार्टीबीच गठबन्धन भएको बताए । ‘कुनै व्यक्तिगत रुपले के फाइदा हुने भनेर गठबन्धन गरिएको होइन,’ नेता केसीले भने, ‘संविधान ध्वस्त बनाउनेविरुद्ध गठबन्धन हो ।’ सडक, बाटो जस्ता विकास निर्माण, स्वास्थ्य, खानेपानी, सिँचाईका लागि निरन्तर लडिरहने उनले बताए ।

तामाङ बस्तीको बाहुल्यता रहेको म्यागङमा तामाङ संग्रहालय स्थापना गरिछाड्ने उनले बताए । ‘तामाङ जातिको भेषभुषा र संस्कृति जोगाउन तामाङ संग्रहालय निर्माण गराएरै छाड्छु,’ नेता केसीले भने,‘हातखुट्टा चलुन्जेल यो क्षेत्रको विकासमा लागिरहन्छु ।’उनले कृषि कलेज विकास, चियाखेती विस्तार गर्ने र जडिबुटी खेतीको विकास गर्न लागिपर्ने पनि बताए ।





प्रतिक्रिया दिनुहोस्