नुवाकोट- प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाका सचिव गोकर्णमणि दवाडीले एक कार्यक्रमबीच प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष नवनिर्वाचित सदस्यहरुको विवरण पेश गरेका छन् ।
प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार बागमती प्रदेश सभाका लागि निर्वाचित सदस्यहरुको विवरणसहितको प्रतिवेदन पेश गरेका हुन् ।
आयोगले तयार पारेको प्रतिवेदन अनुसार, गत निर्वाचनमा बागमती प्रदेश सभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् । प्रदेश सभामा ७ वटा दलको प्रतिनिधित्व रहेको छ ।
प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसँगै बागमती प्रदेश सभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला भएको छ ।
बागमती प्रदेशको प्रदेशसभातर्फ ११० जना निर्वाचित सदस्यमध्ये पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार बागमती प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएकोमध्ये प्रत्यक्षतर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।
बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४१७ र महिला उम्मेदवार ६७ जना गरी कूल ४८४ जनाको धरौटी जफत भएको छ ।