• १ माघ २०८१, मंगलवार

मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन

हेटौँडा- नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार काठमाडौँमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

बैठकले नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकोमा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट राजीनामा दिई बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकोले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले जानकारी दिए ।

बागमतीको १ सय १० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।





प्रतिक्रिया दिनुहोस्