विदुर- नुवाकोटको पञ्चकन्या गाँउपालिकामा प्रथम पञ्चकन्या महोत्सव सुरु भएको छ । महोत्सवको उद्धघाटन गर्दै सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विभिन्न किसिमका मेला महोत्सवहरुको आयोजनाले हराउदै गएको कला, संस्कृति र मौलिकपनको जगेर्नाका लागी सहयोग पुग्दै आएको बताउनुभएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री तामाङले मेला महोत्सवको माध्यमबाट आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै बजार चलायमान बनाउनको लागी सहज हुने बताउनुभएको छ ।
महोत्सवको उद्धघाटन कार्यक्रममा पञ्चेवाजा, लामा नाच, लाखे नाँचका साथै भजन मण्डलीद्धारा भजन प्रस्तुत गरिएको थियो ।
पञ्चकन्या गाँउपालिकाको वडा नम्बर २ को आयोजनामा बोजिनीफाँटमा सञ्चालन भएको प्रथम व्यापार, कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव बैशाख ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
उद्धघाटन कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य रमेशकुमार महत, लिखु गाँउपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसी, पञ्चकन्या गाँउपालिकाका ५ वटै वडाका अध्यक्षहरु, पालिकास्तरिय जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
“सम्बृद्ध नुवाकोटको आधार, शिक्षा, कृषि, पर्यटन र पुर्वाधार”भन्ने नारा सहित सञ्चालन गरिएको महोत्सवमा एक सयभन्दा बढि स्टलहरु रहेको छ ।