नुवाकोट- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले प्रदेश सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार आह्वान गरिएको प्रदेशसभाको वर्खे (चौँथो) अधिवेशन बैठकमा शुभकामना दिने कार्यसूचीका क्रममा नेता लामाले आक्रोश व्यक्त गरेका छन् ।
नेता लामाले प्रदेश सरकारले प्रदेशकै ठूलो अस्पताललाई मदन भण्डारी प्रतिष्ठानको नाममा सञ्चालन गर्न लागेको प्रति आपत्ति जनाएका हुन् । सभालाई सम्बोधन गर्दै उनले प्रदेश भित्रको १३ वटै जिल्लाका नागरिकका लागि सहज र सर्वसुलभ सेवा प्रदान गर्ने उदेश्यले सञ्चालन गर्न लागिएको अस्पताल कुनै एउटा प्रतिष्ठानको नाममा गर्नु गलत नियतका साथ आफ्ना कार्यकर्ता पाल्ने ठाउँ मात्र बनाउने काम भएको भन्दै सरकारको उक्त कार्यको विरोध जनाएका छन् ।
साथै नेता लामाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रश्न गर्दै यदि प्रदेशले निर्माण गर्ने र कुनै प्रतिष्ठानको नाम राखेर काम गर्ने हो भने हाम्रा प्रतिष्ठानको नाममा पनि बनाईदिन सक्नुहुन्छ ? भन्दै आक्रोश पोखेका छन् । सरकारले गलत निर्णय तत्काल नसच्याए नेपाली कांग्रेसले बागमती प्रदेश सभा पनि ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
https://www.facebook.com/watch?v=973678140876902