काठमाडौँ- बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र सम्बन्धी प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरहरू मापदण्ड अनुसार बनाउने भएको छ ।
मापदण्डविपरीत सञ्चालित ट्रायल सेन्टर र ट्रायल सेन्टरमा निजी सवारी साधन प्रयोगमा लगाइएको रोकका विषयमा बागमती प्रदेश सरकार र राष्ट्रिय सतर्कता केन्द्रबीच भएको छलफलमा प्रदेश सरकारले ट्रायल सेन्टर मापदण्ड अनुसार बनाउने जनाएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहबीच छलफल भएको थियो ।
छलफलमा मुख्यमन्त्री जम्कट्टेलले ट्रायल सेन्टरहरू मापदण्ड अनुसार बनाउन आफू सकारात्मक रहेको बताए । प्रविधिको प्रयोग गरेर ट्रायल दिन मिल्ने गरी चाँगुनारायणमा ट्रायल सेन्टर बनाउने योजना रहेको मुख्यमन्त्रीले भेटमा सुनाए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका का.मु. प्रमुख सचिव गोविन्द बहादुर कार्कीले पूर्वाधार तयार गरेर अटोमेसनमा जाने र निर्देशिका कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए ।
प्राविधिक परीक्षण अन्तरक्रिया कार्यक्रममा सहभागी हुन हेटौँडा पुगेको सतर्कता केन्द्रको टोलीले मुख्यमन्त्री जम्कट्टेलसँग छलफल गरेको हो । संघ र स्थानीय सरकारका विकासे अड्डाका इन्जिनियरसँग विकास निर्माणमा देखिने त्रुटिका विषयमा अन्तरक्रिया भएको थियो ।