नुवाकोट– बागमती प्रदेशमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनिसकेका छन।
अघिल्लो संसदमा तेस्रो शक्ति रहेको कांग्रेस हाल पहिलो दल बन्दा समेत हालसम्म सरकारको नेतृत्व गर्न पाएको छैन।
कांग्रेस सत्तामा पुग्न नसक्नुमा केन्द्रमा सत्ता केन्द्रित गठबन्धन परिवर्तन हुनु प्रमुख कारण बनेको छ। साथै, केन्द्रमा हुने भागबन्डामा कांग्रेसका हिस्सामा बागमती प्रदेश सरकारको नेतृत्व नपाउनु पनि कारण बनेको छ।
गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार दुई ठूला दलले ३/३ प्रदेश सरकारको नेतृत्व गर्ने भएका छन्। जसअन्तर्गत कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ।
नेपाली कांग्रेसबाट बागमती प्रदेश सभामा हाल ३७ सांसद सहित पहिलो दल हो । अघिल्लोपटक भन्दा १५ सांसद कांग्रेसले थपेको थियो। तापनि, केन्द्रको गठबन्धनले गर्दा सरकारमा पुग्न सक्ने अवस्था रहेन।
कांग्रेसको संसदीय दलको विधानअनुसार संसदीय दलको नेताले सरकारको नेतृत्व गर्ने प्रावधान छ। अघिल्लोपटक संसदीय दलको नेता रहेका इन्द्र बानियाँले सरकारको नेतृत्व गर्ने परिस्थिति बनेन।
कांग्रेसको बागमती प्रदेश सभापति समेतरहेका बानियाँ २०७९ पुसमा संसदीय दलको निर्वाचनमा बहादुरसिंह लामासँग पराजित भए। केन्द्रको सहमति कार्यान्वयन भए बामगतीमा कांग्रेसबाट सरकारको नेतृत्व गर्ने लामा पहिलो व्यक्ति हुनेछन्।