नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले असोज २५ गतेसम्मका लागि सार्वजनिक कार्यक्रमहरु स्थगित गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै मुख्यमन्त्रीले अविरल वर्षाको कारण धनजनको क्षति र विपद व्यवस्थापनमा केन्द्रित हुनुपर्ने भएकाले सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको जानकारी दिएको छ ।
मुख्यमन्त्री लामाले भनेका छन्, “अविरल वर्षादको कारण देशको विभिन्न भू-भागमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति व्यहोर्नु परेको छ । यस दु:खद परिस्थितिमा बागमती प्रदेश सरकार घटनामा बेपत्ता भएकाहरुको खोजी, घाइतेहरुको उद्वार, उपचार तथा राहतमा केन्द्रित छ।”
यस्तै, प्रदेशको विद्यमान परिस्थिति र चुनौतीलाई समेत मध्यनजर गर्दै, नजिकिँदै गरेको ठुला चाडपर्वहरुलाई प्रभावित हुन नदिन र बागमती प्रदेश सरकार बिपद् व्यवस्थापनमा केन्द्रित रहनुपर्ने हुँदा आउँदो असोज २५ गतेसम्म निर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्री लामाले जानकारी दिएका छन् ।