अश्विन दुवाडी
विद्यार्थी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर
नेपाली राजनीति जतिजति बेला तरङ्गित हुन खोज्यो या भनौं व्यवस्थामाथि प्रश्न खडा भए, परिवर्तनका स्वरहरु गुन्जिन थाले सधैं अग्र मोर्चामा विद्यार्थी राजनीति नै रहिरहेको छ। त्यो चाहे सात सालको प्रजातन्त्र स्थापनाका लागि सुरुगरिएको आन्दोलन होस् या पछिल्लो समय गणतन्त्र स्थापनाका लागि १९ दिने आन्दोलन होस्। नेतृत्व जसले गरे पनि उर्जा जोश हिम्मत बोकेर सडकमा आउने विद्यार्थी नै थिए । हरेक मोर्चामा अग्रपंक्तिमा रहने , आट र साहस गर्न नडराउने भएकै कारण युवा विद्यार्थी राजनीतिक दलको शक्ति केन्द्र हुन थाले। फलस्वरूप सबै राजनीतिक दलमा विद्यार्थी संगठन हुने र दलले गर्ने हरेक गतिविधिलाई चलायमान बनाउने जिम्मेवारी तिनै विद्यार्थी संघ संगठनले सफल पार्दै आए। पछिल्लो सात दशक व्यवस्था परिवर्तनमै रुमलिएको नेपाली राजनीति अब विस्तारै अवस्था परिवर्तनको मुद्दामा केन्द्रित हुन थालेको छ। हिजो हरेक जमघटमा कसरी जनताको शासन व्यवस्था ल्याउन सकिएला भनेर हुने वहस अब भने विकास सम्वृद्धीका शिर्षकमा केन्द्रित हुन थालेका छन्। त्यो आजको नेपालका लागि सकारात्मक पक्ष हो।
व्यवस्था परिवर्तन भएर जनताले रोजेको व्यवस्था आएपछि र जनताले नै निर्वाचित जनप्रतिनिधिबाट बनेको नेपालको संविधान १० दशक पाको हुन लाग्दैछ। यो बिचमा जुन तिब्रता नेपाली समाजले विकासको गतिमा अपेक्षा गरेको थियो त्यो सोचेअनुरुप नभएको स्विकार्नु पर्छ तर साथसाथै हुदै भएन भन्ने नैराश्यता पनि त्याग्नु पर्छ। पछिल्लो समय हाम्रो युवा जनशक्ति आफ्नो भविष्य निर्माणका लागि भन्दै दैनिक हजारौं सङ्ख्यामा बाहिरिने र त्यो अनुपातमा शिक्षा हाँसिल गरेपछि नेपाल फर्किने दर निकै न्युन रहेका कारण देशको भविष्य चाहि के होला भन्ने ठूलो प्रश्न छ। आजको दिनमा हाम्रा गाउँ शुन्य छन्, विश्वविद्यालयमा विद्यार्थी ज्यादै कम भएका छन् , बजारमा नयाँ उद्यम निकै कम छन् , विद्यालयमा शिक्षक अभाव भइरहेका छन् , आयोजनाहरुमा दक्ष देखि अदक्ष जनशक्ति कमि भैरहेको छ । यसले पक्कै राम्रो स्थितको संकेत गरिरहेको छैन ।
अब हाम्रा विश्वविद्यालय आजको विश्व सुहाउँदो वैज्ञानिक र बजारमैत्री जनशक्ति तयार पार्न तर्फ नसोच्ने हो भने यो स्थित अझ विकराल हुने प्रष्ट छ। वैदेशिक अध्ययनमा जाने विद्यार्थी ५ वर्ष अध्ययन गर्दैगर्दा हातमा सिप , मस्तिष्कमा ज्ञानमा , बजारमा बिक्ने सर्टिफिकेट र खल्तीमा नविन कार्यका लागि थोरै धेरै पैसा एकसाथ बनाउन सक्छ तर नेपालका विश्वविद्यालय उहि पुरानै शैलीमा अघि बढिरहने हो भने विद्यार्थी आकर्षित हुन सक्दैनन् । दुई दशक अध्ययन गरेर सर्टिफिकेट थुपार्ने तर त्यहि सर्टिफिकेट र हाँसिल गरेको ज्ञान बजारमा उपयोग नहुनु आजको नैराश्यताको प्रमुख कारण हो। अब हाम्रा विद्यार्थीले पनि आफ्ना अनुसन्धानलाई पनि बजार सुहाउँदो , समाजको आवश्यकता र माग अनुरुप अगाडि बढाउनु पर्छ। अध्ययन पुस्तक मात्रै होइन, समाज र बजारको स्थिति र मागको पनि हुनु अपरिहार्य छ। हाम्रो क्षमताले विश्वबजारलाई प्रतिस्पर्धा गर्नुपर्छ। हाम्रो शैक्षिक गुणस्तरमा व्यापक सुधारको आवश्यकता छ। हाम्रा सैधान्तिक पाठ्यक्रममा सुधार र प्रयोगात्मक अध्ययनको दायरा बढाउदै विश्वबजारका नविन आविष्कार र खोजसँग हाम्रा विश्वविद्यालय पनि जोडिन सक्ने बनाउनु पर्नेछ। विश्व ए.आई र डिजिटल दुनियाँमा प्रतिस्पर्धा गरिरहदा हामी बल्ल टेस्टट्युब र बिकर बोकेरै दंग परिरहेको अवस्थामा छौं ।
हाम्रा विश्वविद्यालयका प्रयोगशालामा आधुनिक उपकरणको अभाव छ । हाम्रा विद्यार्थीका खोज अनुसन्धानमा यस्ता पुरानो कार्यक्षमता( efficiency ) कम भएका मेसिन तथा उपकरण प्रयोग गर्दा हाम्रो खोजको उपलब्धिलाई विश्वबजारले प्रश्न गरिरहेको छ। हामीले जबसम्म हाम्रा शैक्षिक संस्थाहरुलाई झोला बोकेर धाउने, किताब घोकेर सर्टिफिकेट बनाउने फ्याक्ट्रीका रुपमा मात्रै हेर्छौं। हाम्रा उत्पादन गतिविहिन नै हुन्छन् । ज्ञान सिप एकातिर विश्वबजार अर्कैतिर हुने अवस्था सिर्जना भएकै कारण हालको अवस्था सिर्जना भएको हो ।
कम्तिमा विश्वविद्यालयमा सैद्धान्तिक भन्दा प्रयोगात्मक अभ्यासमा जोड दिने। प्रयोगशालाहरुको स्तर उन्नति गरि विद्यार्थी मैत्री बनाउने। विश्वविद्यालयका प्रयोगशालामा विद्यार्थीको पहुँच वृद्धि गर्ने। आधुनिक उपकरणको व्यवस्था गर्ने र पुस्तकालयमा पुस्तक उपलब्धतालाई मात्रै पनि सबै तहका शैक्षिक संस्थामा जोड दिन सके हाम्रो पठन संस्कृति सुधार हुनेछ। हाम्रा अनुसन्धान काम टार्ने मेसोका रुपमा नभइ साच्चै नयाँ उपलब्धि हाँसिल गर्ने दृढताका साथ हरेक प्राध्यापक र विद्यार्थीले अगाडि बढाउने हो भने पनि हाम्रो विश्वसनीयता विश्वबजारमा उच्च हुनेछ।
अब यी तमाम समस्याका बाबजुद पनि हामीले हाम्रो शैक्षिक नितिमा फेरबदल गरेर गुणस्तरमा सुधार गर्दै केहि नितिगत ,केहि व्यावहारिक र केहि प्रणालीगत सुधार गर्न सके मात्रै पनि हाम्रो विश्वविद्यालयमा शैक्षिक आकर्षण बढाउन सकिन्छ । अहिले देशको सबैभन्दा ठूलो, पुरानो र सबैभन्दा धेरै विद्यार्थीले अध्ययनरत त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारीमा छ। चैत ५ गते हुने निर्वाचनमा दुई वर्षको कार्यकालका लागि विद्यार्थी नेतृत्व चयन हुदै छ। अबको विद्यार्थी नेतृत्वले विश्वविद्यालयको सुधार, शैक्षिक गुणस्तर र वैज्ञानिक शिक्षामा जोड दिन आवश्यक छ । राजनीतिक दलका संघ संगठन , स्वतन्त्र समाज , विद्यार्थी , प्राध्यापक , कर्मचारी सबैको एउटै उदेश्य विश्वविद्यालय सुधारमा हुन अपरिहार्य छ। सबैको लक्ष एकै हुने र सकारात्मक भावनाले अगाडि बढ्ने हो भने विश्वविद्यालय हाम्रो शैक्षिक हव बन्न कति पनि समय लाग्दैन । यसतर्फ हामी सबैको ध्यान जान जरुरी छ।