• २९ बैशाख २०८३, मंगलवार

नुवाकोटमा भव्य रूपमा ट्राफिक सप्ताह–२०८३ सुरु

नुवाकोट, बिदुर ।

“सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि” भन्ने मूल नारासहित नुवाकोटमा ट्राफिक सप्ताह–२०८३ भव्य रूपमा सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा आज बिदुरमा प्रभातफेरीसहित उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राजन श्रेष्ठले ट्राफिक नियमको पालना सभ्य समाज निर्माणको आधार भएको बताउनुभयो । बढ्दो सवारी चापसँगै सडक दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै उहाँले सचेतना अभिवृद्धि नै दुर्घटना न्यूनीकरणको प्रभावकारी उपाय भएको धारणा राख्नुभयो । मेयर श्रेष्ठले भन्नुभयो “ट्राफिक नियमको पालना प्रहरीको मात्र जिम्मेवारी होइन, सम्पूर्ण नागरिकको साझा कर्तव्य हो । अनुशासित सडक संस्कार विकास गर्न सके धेरै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले सुरक्षित यात्राका लागि ट्राफिक नियमको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी निकाय, स्थानीय तह, विद्यालय तथा नागरिक समाजबीचको सहकार्यबाट मात्रै सडक सुरक्षा प्रभावकारी बन्न सक्ने बताउनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सचेतनामूलक कार्यक्रमसँगै निगरानी र कारबाहीलाई समेत प्रभावकारी बनाउँदै लगेको जानकारी दिनुभयो । ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति नियन्त्रण गर्न सबै पक्षको साथ आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रमअन्तर्गत आयोजित प्रभातफेरीमा सहभागीहरूले सडक सुरक्षा सम्बन्धी नारासहित बिदुर बजार परिक्रमा गरेका थिए । विद्यार्थीहरूले सचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै सुरक्षित यात्राको सन्देश प्रवाह गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद कुमार घिमिरेका अनुसार ट्राफिक सप्ताहभर विद्यालय केन्द्रित सचेतना कार्यक्रम, चालक–सहचालक अभिमुखीकरण, हेल्मेट तथा सिटबेल्ट प्रयोगसम्बन्धी अभियान, मापसे नियन्त्रण तथा सडक सुरक्षा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

उहाँले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा यात्रुलाई समेत सुरक्षित यात्राप्रति सचेत बन्न आग्रह गर्नुभयो ।

ट्राफिक सप्ताहको उद्घाटन कार्यक्रमले नुवाकोटमा सडक सुरक्षाप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् 





प्रतिक्रिया दिनुहोस्