• ३० बैशाख २०८३, बुधबार

सबै पक्ष समेटेर अघि बढ्न महतको आग्रह, कांग्रेस एकतामा जोड

काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताएका छन्। बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकता सुदृढ बनाउन नेतृत्व अझ जिम्मेवार हुनुपर्नेमा जोड दिए।

उनले आफूहरू पार्टीभित्र कुनै प्रकारको विग्रह नचाहने र सधैं एकताको पक्षमा रहेको स्पष्ट पारे। “एक पक्षले निर्वाचित गरेको आधारमा मात्र नेतृत्व स्वेच्छाचारी ढंगले चल्न हुँदैन,” महतले भने।

पार्टीलाई व्यक्ति केन्द्रित नभई संस्थागत रूपमा बलियो बनाउने अभियानमा आफूहरू लागिरहेको उल्लेख गर्दै उनले कार्यकर्तालाई कुनै दुविधामा नपर्न आग्रह गरे।

नेता महतले पार्टी विभाजन गर्ने कुनै मनसाय नरहेको स्पष्ट पार्दै एकताका लागि नेतृत्वले निश्चित आधार तय गरी त्यसप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।





प्रतिक्रिया दिनुहोस्