• २७ बैशाख २०८३, आईतवार

नुवाकोट समाज जापानको नागोया कमिटी गठन हुँदै

टोकियो, जापान । जापानमा रहेका नुवाकोटे समुदायलाई एकताबद्ध गर्दै आपसी सहयोग, सहकार्य र सामाजिक गतिविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नुवाकोट समाज जापान ले नागोयामा “क्षेत्रीय कमिटी गठन तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी २०२६ मे १६ तारिख (शनिबार) दिउँसो ३:०० बजे नागोयास्थित Doban Restaurant, Sakae मा आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रम स्थलको ठेगाना 名古屋市東区泉1丁目22-29 रहेको छ।

नुवाकोट समाज जापानले विशेष गरी नागोया तथा आसपास क्षेत्रमा बसोबास गर्ने नुवाकोटे दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई साथ, सहयोग र सहभागिता जनाउन अनुरोध गरेको छ। साथै, नवगठित नागोया क्षेत्रीय कमिटीमा बसेर सामाजिक कार्य गर्न इच्छुक व्यक्तिहरूलाई पनि सम्पर्क गर्न आग्रह गरिएको छ।

समाजका अनुसार, विदेशमा रहेर पनि नुवाकोटेली पहिचान, संस्कृति, आपसी सद्भाव र सहयोगलाई मजबुत बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा आपसी चिनजान, सुझाव आदान–प्रदान, भविष्यका योजना तथा समुदायलाई अझ सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ।

नुवाकोट समाज जापानले जापानका विभिन्न क्षेत्रमा रहेका नुवाकोटेलीहरूलाई एउटै साझा मञ्चमा जोड्दै सामाजिक, सांस्कृतिक तथा सहयोगात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। नागोया क्षेत्रमा पनि औपचारिक कमिटी गठन भएपछि स्थानीय स्तरमा कार्यक्रमहरू अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आयोजकले दिएको सम्पर्क नम्बर:
📞 052-265-6685

नुवाकोट समाज जापानले “हामी सबैको साझा संस्था” भन्ने भावना सहित सबैलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ।





प्रतिक्रिया दिनुहोस्