नुवाकोट, विदुर
विदुर नगरपालिकाको आयोजनामा “प्रथम विदुर मेयर कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८३” आजदेखि सुरु भएको छ। विदुर–२ स्थित नुवाकोट ब्याडमिन्टन कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नेपाली काङ्ग्रेसका सह–महामन्त्री तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाले गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामाले खेलकुदले अनुशासन, एकता र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। “खेलकुद राष्ट्र निर्माणको आधार हो, यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उत्पादनमा टेवा पुर्याउँछ,” उहाँले भन्नुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम ठकुरीले जिल्लामा खेल पूर्वाधार विकाससँगै प्रतिभा पहिचान आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तह र सरोकारवालाबीच सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।
यसैबीच, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगरपालिकाले आगामी दिनमा पनि ब्याडमिन्टनसहित अन्य खेललाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। खेल क्षेत्रको विकासबाट मात्रै देशको समग्र विकास सम्भव हुने उहाँको भनाइ थियो।
नुवाकोट जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङ का अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूको बसोबास तथा खानपानको सम्पूर्ण व्यवस्था संघले नै मिलाएको छ। “खेलाडीहरूलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले बस्ने र खाने व्यवस्थासहित आवश्यक सम्पूर्ण व्यवस्थापन गरिएको उहाँले बताउनुभयो।

प्रतियोगितामा पुरुष सिंगल, महिला डबल, पुरुष डबल, मिक्स डबल, ‘बी’ लेभल, भेट्रान्स (९०+), नुवाकोट जिल्ला स्तरीय खुल्ला र ‘बी’ लेभल गरी ८ विधामा प्रतिस्पर्धा भइरहेको छ। केही विधामा प्रथम पुरस्कार ५० हजार रुपैयाँसम्म राखिएको आयोजकले जनाएको छ।
देशभरबाट खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा विभिन्न विधा र टिमका खेलहरू उत्साहजनक रूपमा सञ्चालन भइरहेका छन्। प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधि विस्तार तथा नयाँ खेलाडी उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।