नुवाकोट, किस्पाङ — किस्पाङ गाउँपालिका वडा नं. २ गोगनेकी मनिषा न्यौपानेले आफ्नो मेहनत र लगनशीलताको उदाहरण प्रस्तुत गर्दै गाउँमै पहिलो पटक एक रोपनी जमिनमा अकबरे खुर्सानी खेती व्यावसायिक रूपमा सुरु गरेकी छन्। २३ बर्षको उमेरमै कृषिमा आफ्नो भविष्य देखेकी मनिषाले आज गाउँमा नयाँ प्रेरणा बोकेकी एक सफल युवा कृषकको रूपमा चिनिँदै छिन्।
मनिषा कृषि विषय अध्ययनरत विद्यार्थी हुन्। उनी भन्छिन्, “पढाइसँगै व्यावहारिक ज्ञान पनि जरुरी हुन्छ, त्यसैले म कृषिमा आफ्नै प्रयोग गर्न चाहन्थेँ।” किस्पाङ गाउँपालिका, हेफर इन्टरनेसनल र काडसलको सहकार्यमा उपलब्ध गराइएको अकबरे खुर्सानीको बिरुवा पाएपछि उनले त्यसैलाई आधार बनाएर खेती सुरु गरेकी हुन्। कृषि तालीममा पाएको ज्ञान र सीपलाई प्रयोगमा ल्याउँदै उनले बारीमा करिब डेढ क्विन्टल खुर्सानी उत्पादन गर्न सफल भएकी छिन्।

मनिषा अहिले कृषि विषय अध्ययन गर्दैछिन्। उनी भन्छिन्, “किताबमा मात्र पढेर होइन, खेतमा गएर सिक्दा मात्रै वास्तविक ज्ञान आउँछ।” यही सोचले गर्दा उनले पढाइसँगै व्यावहारिक अनुभव लिन चाहिन् र अकबरे खुर्सानी खेतीको बाटो रोजिन्
हाल मनिषा आफ्नो उत्पादनलाई बजारसम्म पुर्याउने तयारीमा छिन्। उनी स्थानिय तथा सहरी बजारमा अकबरे खुर्सानीको राम्रो मूल्य पाइने आशामा छिन्। मनिषा भन्छिन्, “खेती गर्न धेरै जमिन चाहिँदैन, इच्छाशक्ति र मेहनत भए गाउँमै पनि आत्मनिर्भर बन्न सकिन्छ।”
उनको यो सफलताले विशेष गरी युवा पुस्तालाई गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। मनिषा जस्ता युवाको सक्रियता र कृषिमा देखिएको नयाँ सोचले किस्पाङ गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा ठुलो टेवा पुर्याउनेछ।
अकबरे खुर्सानी : स्वाद र आम्दानी दुबैको स्रोत
अकबरे खुर्सानी उच्च स्वादयुक्त र औषधीय गुण भएको खुर्सानी मानिन्छ। यसको माग विशेषगरी होटल, रेष्टुरेन्ट र विदेशमा समेत उच्च छ। मनिषाले सुरु गरेको यो प्रयास अब गाउँकै अरू युवाहरूको लागि पनि प्रेरणाको स्रोत बनेको छ।
यस्ता युवाहरूलाई आवश्यक प्रविधि, तालिम र बजार पहुँचको साथ दिइन सकेमा कृषि क्षेत्रले युवालाई गाउँमै रोजगारी दिने मात्रै होइन, राष्ट्रिय उत्पादन वृद्धिमा पनि ठुलो योगदान दिन सक्छ ।