नुवाकोट, साउन १५
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८ स्थित लौके झरनामा घुम्न गएका चार जना युवायुवती खोलामा आएको आकस्मिक बाढीका कारण खोलापारि फसेका थिए।
मिति २०८२ साल साउन १५ गते अन्दाजी साँझ ६:०० बजेको समयमा उक्त बाढी आएपछि ती व्यक्ति खोलापारि फसेको सूचना प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो।

१० जनाको प्रहरी टोलीसहित अस्थायी प्रहरी पोष्ट छहरेका प्रहरी सहायक निरीक्षक राजबाबु सिंह राजपुतको नेतृत्वमा थप ३ जना प्रहरी खटिइ खोलापारि फसेका चारै जनालाई साँझ ६:४५ बजे सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ।
उद्धार गरिएका व्यक्तिहरूमा काठमाडौँ महानगरपालिका–७, सातदोबाटोकी २४ वर्षीया लक्ष्मी शिंखडा, नुवाकोट शिवपुरी गाउँपालिका–८ निवासी २२ वर्षीय अनिश नेपाली, २१ वर्षीय कृष्ण नेपाली र २६ वर्षीय राजेश नेपाली रहेका छन्।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको सक्रियता र शीघ्र कार्यसम्पादनका कारण संभावित दुर्घटना टर्न सफल भएको हो। प्रशासनले वर्षा र बाढीका समयमा जोखिमयुक्त क्षेत्रतर्फ नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।