• १४ भाद्र २०८३, आईतवार

भोटेकोसी–रसुवागढी बाढीपीडितको उपचारमा डा. केदार केसी, निजी निवासमै निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट — भोटेकोसी–रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइते नागरिकको उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चिकित्सक डा. केदार नरसिंह केसीले नुवाकोटस्थित आफ्नो निजी निवासमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

बाढीबाट घाइते भएका तथा विभिन्न स्वास्थ्य समस्या भोगिरहेका पीडितको उपचारका लागि डा. केसीले चिकित्सकहरूको टोली नै नुवाकोट ल्याएर स्वास्थ्य परीक्षण तथा उपचार सुरु गरेका हुन्। शिविरमा बाढीका कारण घाइते भएका तथा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण, आवश्यक उपचार र चिकित्सकीय परामर्श प्रदान भइरहेको छ।

विपद्का कारण उपचार सेवासमेत प्रभावित भएको अवस्थामा पीडितलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको डा. केसीले बताएका छन्। उनका अनुसार भोटेकोसी–रसुवागढी बाढीपीडितका लागि दैनिक निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिनेछ।

बाढीपछि घाइते तथा बिरामीको संख्या बढ्दै जाँदा आर्थिक अभाव वा उपचारमा पहुँचको कमीका कारण कुनै पनि पीडित स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चिकित्सकहरूको टोली परिचालन गरिएको उनले बताए।

भोटेकोसी–रसुवागढी बाढीले रसुवा र नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित नागरिकका लागि राहत, उद्धारसँगै स्वास्थ्य उपचारको आवश्यकता पनि बढेको छ। यस्तो अवस्थामा निजी पहलमा चिकित्सकको टोलीसहित सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरले बाढीपीडितलाई तत्काल स्वास्थ्य उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ




प्रतिक्रिया दिनुहोस्