• १७ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढीपछि राहतमा दलहरू एक ठाउँमा, नुवाकोटमा ६ दलको साझा संयन्त्र सक्रिय

नुवाकोट — भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवामा राहत तथा पुनःस्थापनाका कामलाई थप व्यवस्थित बनाउन राजनीतिक दलहरूको सहभागितामा सहजीकरण संयन्त्र परिचालन गरिएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूका प्रतिनिधि सम्मिलित राजनीतिक सहजीकरण समिति गठन गरी राहत वितरण, स्थानीय तहसँगको समन्वय तथा प्रभावित नागरिकको आवश्यकताका आधारमा सहयोग परिचालन गर्न थालिएको हो। समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका प्रतिनिधि सहभागी छन्।

प्रमुख जिल्ला अधिकारी रेग्मीले राजनीतिक दलका प्रतिनिधिलाई समेत राहत व्यवस्थापनको प्रक्रियामा सहभागी गराउँदा स्थानीय तहसम्म आवश्यक सामग्री तथा सहयोग पुर्‍याउन सहज हुने बताए। उनका अनुसार यही संयन्त्रमार्फत स्थानीय तहसँग समन्वय गरी राहत वितरणलगायतका काम अघि बढाइनेछ।बाढीबाट प्रभावित क्षेत्रमा राहतको आवश्यकता पहिचान, प्राथमिकता निर्धारण र उपलब्ध स्रोतको प्रभावकारी परिचालनलाई ध्यान दिइएको प्रशासनले जनाएको छ। रसुवामा पनि यही प्रकृतिको राजनीतिक सहजीकरण संयन्त्रमार्फत राहत व्यवस्थापनको काम अघि बढाइएको छ।यसअघि ११ भदौमा भएको सर्वदलीय बैठकले विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत र उद्धारमा मात्र सीमित नराखी दीर्घकालीन समाधानतर्फ लैजाने विषयमा सहमति गरेको थियो।बैठकले बाढी प्रभावित स्थानीय तहलाई राहत तथा पुनःस्थापनाको काममा अग्रणी भूमिका दिने र आवश्यक समन्वयका लागि केन्द्रमा सर्वदलीय संयन्त्र निर्माण गर्ने निर्णयसमेत गरेको थियो।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा सडक, पुल, विद्युत्, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेका कारण तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक देखिएको छ। प्रशासनले राजनीतिक दल, स्थानीय तह र अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै राहत तथा पुनःस्थापनाका काम अघि बढाउने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्