• १५ भाद्र २०८३, सोमबार

बट्टारमा आफन्तको पर्खाइ : हेलिकप्टरको आवाजसँगै बढ्छ परिवारको धड्कन

माथिल्लो त्रिशूली–१ का बेपत्ता आफन्त खोज्दै सैन्य तालिम केन्द्रबाहिर सयौँ परिवार, ‘उहाँ जीवितै हुनुहुन्छ भन्ने आशा छ

नुवाकोट, भदौ १५ । रसुवामा आएको बाढीपहिरोपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत आफन्त बेपत्ता भएपछि उनीहरूका परिवारजन नुवाकोटको बट्टारस्थित नेपाली सेनाको सैन्य तालिम केन्द्रमा दिनहुँ पुगेर उद्धारको खबर कुरिरहेका छन्।

सेनाको तालिम केन्द्र उद्धार तथा समन्वयका लागि प्रयोग भइरहेकाले बेपत्ता आफन्तका परिवारजन त्यहाँ पुगेर उद्धारबाट ल्याइएका व्यक्तिको विवरण र नामावली खोज्ने गरेका छन्। हेलिकप्टर अवतरण हुने सूचना पाएपछि उनीहरू आफ्ना आफन्त भेटिने आशामा गेटतर्फ दौडिने गरेका छन्।

बट्टारमा दिनहुँ आफन्तको खोजीमा पुग्नेमा ३९ वर्षीय कृष्णबहादुर अधिकारीकी श्रीमती सबिता श्रेष्ठ पनि छिन्। कृष्ण दुई महिनाअघि मात्रै काठमाडौंँबाट सरुवा भएर माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सेफ्टी अफिसरका रूपमा कार्यरत थिए।

बाढीपहिरोपछि कृष्ण सम्पर्कविहीन भएपछि सबिता श्रीमान्को अवस्थाबारे जानकारी लिन दैनिकजसो सैन्य तालिम केन्द्र पुग्ने गरेकी छन्। उनको साथमा कृष्णको फोटो हुन्छ। आकाशमा हेलिकप्टरको आवाज आउनासाथ उनी उद्धार गरेर ल्याइएका व्यक्तिको भीडतर्फ पुग्छिन्।

‘मलाई उहाँ जीवितै हुनुहुन्छ भन्ने विश्वास छ,’ सबिताले भनिन्, ‘कतै टनेलभित्र सुरक्षित भएर उद्धारको पर्खाइमा हुनुहुन्छ कि भन्ने आशा छ। उद्धार टोली उहाँसम्म पुग्न नसकेको पो हो कि भन्ने चिन्ता लाग्छ।’

कृष्णका चार वर्षका एक छोरा तथा १२ र १५ वर्षका दुई छोरी छन्। बुबाको अवस्थाबारे उनीहरूलाई यकिन जानकारी छैन। श्रीमान्को खोजीमा रहेकी सबितासँगै कृष्णकी बहिनी सन्तोषी अधिकारी पनि बट्टार पुग्ने गरेकी छन्।

‘उहाँ नआएसम्म हामी यहाँबाट जाँदैनौँ,’ सन्तोषीले भनिन्।

माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत ३१ वर्षीय सन्तोष कुमार यादवका परिवारजन पनि यही अवस्थामा छन्। सन्तोष आयोजनामा क्वालिटी कन्ट्रोल इन्जिनियरका रूपमा कार्यरत थिए। उनीसँगै उनका सालो र सालोका सालो पनि बेपत्ता छन्।

सन्तोषका दाजु तथा वीर अस्पतालमा कार्यरत डा. अशोक आर्यन यादव पनि भाइको खोजीमा बट्टार पुगेका छन्।

डा. अशोकका अनुसार बाढी आउनुअघि उनका भाइलाई साथीहरूले टनेलनजिकै ड्युटीमा देखेका थिए। ‘साथीहरूले टनेलतिरै छिरेको देखेका हुन्,’ उनले भने, ‘त्यसैले उहाँ टनेलभित्रै सुरक्षित हुनुहुन्छ कि भन्ने आशा छ।’

बट्टारस्थित सैन्य तालिम केन्द्रमा बेपत्ता व्यक्तिका आफन्तहरूले टाँसिएका नामावली हेरेर आफ्ना परिवारका सदस्यको अवस्था बुझ्ने प्रयास गरिरहेका छन्। उद्धार गरिएका वा फेला परेका व्यक्तिको सूचीमा नाम खोज्नेहरूको भीड दिनभर देखिने गरेको छ।

नामावलीमा आफ्नो आफन्तको नाम भेटिए परिवारमा केही राहत देखिन्छ भने नाम नभेटिएका परिवार फेरि अनिश्चित प्रतीक्षामै फर्किने गरेका छन्। रसुवाको बाढीपहिरोपछि माथिल्लो त्रिशूली–१ आयोजनासहित प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। जोखिमपूर्ण भूगोल, पहिरो र आयोजनाका संरचनामा पुगेको क्षतिका कारण बेपत्ता व्यक्तिको खोजी तथा उद्धार चुनौतीपूर्ण बनेको छ। बट्टारमा आफन्तको प्रतीक्षामा बसेका परिवारजनका लागि भने हरेक हेलिकप्टरको आवाज नयाँ आशा बनेर आउने गरेको छ। उनीहरूको प्रतीक्षा एउटै छ । बेपत्ता आफन्तको खबर, सकुशल उद्धार र फेरि आफ्नै आँखाले देख्न पाउने दिन




प्रतिक्रिया दिनुहोस्