विपत्तिको त्यो भयावह क्षण। चारैतिर त्रास र भागदौड। आफ्नै आँखाअगाडि आमालाई गुमाउनुपर्दाको असह्य पीडाबीच पनि बेत्रावती बजारका बालक सम्भ्रान्त आचार्य भने अरू चार अबोध बालबालिकाको जीवन जोगाउन अघि सरे।
भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण भएको दुर्घटनामा उनले आफ्नी आमा गुमाए। तर, आमाको वियोगले विक्षिप्त बन्नुपर्ने त्यो क्षणमा समेत सम्भ्रान्तले आफ्नो ज्यानको पर्वाह नगरी चार जना बालबालिकालाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेले।
आफ्नै परिवारमा बज्रिएको विपत्तिका बीच अरूका सन्तान बचाउने उनको साहस अहिले बेत्रावतीमा चर्चाको विषय बनेको छ। आमा गुमाएको पीडा एकातिर, चार बालबालिकाको जीवन जोगाएको गर्व अर्कोतिर सम्भ्रान्तको कथा विपत्तिमा देखिएको अदम्य साहस र मानवीयताको उदाहरण बनेको छ।
सानै उमेरमा उनले देखाएको यो साहसले विपत्तिका बेला मानवीयता र हिम्मत कति ठूलो शक्ति बन्न सक्छ भन्ने देखाएको छ। बाढीले उनको परिवारबाट एउटा अमूल्य जीवन खोस्यो, तर सम्भ्रान्तले चार अबोध जीवनलाई मृत्युको मुखबाट जोगाउन सके। आमालाई गुमाएका सम्भ्रान्त आज चार बालबालिकाका लागि जीवनदाता बनेका छन् ।