• २५ भाद्र २०८१, मंगलवार

लकडाउन खुलेसँगै कुश्मामा ‘गुलेली’ शैलीको लठ्ठे पिङ सञ्चालनमा

बन्जी र स्वीङ छिट्टै खुल्ने

विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो र नमूना पिङ आज (बुधबार)देखि सञ्चालनमा आएको छ।

बन्जीका लागि कालीगण्डकी नदीको खोंचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दामाथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ। यो ‘गुलेलीको शैली’मा निर्माण गरिएको छ। सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मच्चिन्छ।

पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

चट्टान आरोहणलगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमूना पिङ बनेको कार्कीको दाबी छ।

पिङ खेल्न प्रतिव्यक्ति दुई सय रुपैयाँ लाग्ने कार्कीले बताए।

विश्वकै अग्लो स्वीङ र स्काई साइक्लिङ समेत निर्माण गरेको कम्पनीले अन्य गतिविधिसमेत छिट्टै खोल्ने बताइएको छ।

क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।






प्रतिक्रिया दिनुहोस्