• १६ चैत्र २०८०, शुक्रबार

किस्पाङका अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सहयोग प्रदान

नुवाकोट – किस्पाङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर, शैक्षिक सामाग्री र आर्थिक सहयोग प्रदान गरेको छ ।

गाउँपालिकाको आर्थिक सहयोग तथा अपाङ्गता मानव अधिकार मञ्चको समन्वयमा गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले घरमा नै पुगेर ५ जनालाई ह्विल चियर प्रदान गर्नुभएको हो । यस्तै गाउँपालिकाको विभिन्न विद्यालयमा पढ्दै आएका ८ जना विद्यार्थीको घरमा नै पुगेर झोला, डट्पेन, ज्यामिति बक्स, कलर लगायतको शैक्षिक सामाग्री प्रदान गरिएको छ । ६ जना विद्यार्थीलाई भने विद्यालय सञ्चालनमा आए पछि विद्यालयमा नै शैक्षिक सामाग्री उपलव्ध गराइने गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभएको छ ।

यस्तै ३० जना अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ । उनीहरुको अवस्था अनुसार सबैलाई गरी एक लाख २५ हजार रुपैयाँ प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी काउले उपशाखा सदस्य रबिन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्