कोरोना रोगको सक्रमण रोक्नको लागी जिल्ला संकट व्यावस्थापन केन्द्र नुवाकोटको निर्णय र नुवाकोट प्रशासनको निषेधाज्ञालाई कार्यान्वयन गर्न बेलकोटगढी नगरपालिकाले नगरबासीलाई अपिल गरेको छ ।
नगर प्रमुख राजेन्द्ररमण खनालले विज्ञप्ती जारी गर्दै नुवाकोट जिल्लामा कोरोना रोगको सक्रमण बढिरहेको र त्यसबाट बाहिर जिल्लासंग सिधा नाका भएकाले बेलकोटगढी नगरपालिका अझ बढी जोखिममा भएकाले रोगको सक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न नगरबासीलाई आग्रह गर्नुभएको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढ्दै गएको अहिलेको अवस्थामा रोगको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार र स्थानीय प्रशासनबाट विभिन्न मितिमा जारी गरिएको निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्दै संकट व्यवस्थापन केन्द्र नुवाकोटको वैठकका निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्न गराउन नगर प्रमुख खनालले नगरबासीलाई स्मरण गराउनुभएको छ ।
संकट व्यावस्थापन केन्द्रको निर्णय र नुवाकोट प्रशासनको निषेधाज्ञा अनुसार आज राती १२ बजेदेखि बेलकोटगढी नगरपालिकाको वडा नं. ५, ७, ८, १०, ११, १२ र १३ का सम्पूर्ण क्षेत्रमा पूर्ण रुपमा निषेध गरिएको हुँदा निषेधित क्षेत्रमा कोरोना रोगको सक्रमणबाट बच्नको लागी भीडभाड नगर्न, बजार क्षेत्र बन्द गर्न, खाद्य सामाग्रि बिक्री गर्ने पसल बिहान ६ देखि १० बजेसम्म मात्र चलाउन भनिएको छ ।
यसैगरी, धादिङबाट आउने नाका भएकाले कोल्पुटारबाट गाडी र पैदल दुवै आउजाउ नगरी दिन, धार्मिक तथा सामाजिक क्रियाकलाप सञ्चालन नगर्न तथा बालबालिका, अशक्त विरामी, जेष्ठ नागरिक र गर्भवती महिलाहरुलाई अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कनको लागी नगरप्रमुख राजेन्द्ररमण खनालले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
निषेधाज्ञाको समयमा बेलकोटगढी नगरपालिकाको वडा नं. १,२,३,४,६ र ९ नं. वडा समेत धादिङ जिल्ला र यस नगरपालिकासंग सिमाना जोडिएका ककनी, विदुर लगायतका स्थानीयतहको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा रही कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सचेत रहन आग्रह गरिएको छ । यसैगरी, सिमाना नाकामा कडाईका साथ आवतजावतमा रोक लगाई तोकिएका वडाहरुमा समेत कोरोना रोगको जोखिमको कारण निषेध गरिएका काम नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिदिन अपिल गरिएको छ ।
बेलकोटगढी नगरपालिका अन्तर्गतका जनप्रतिनिधि, कर्मचारीलाई समेत निषेधित गरिएको दश दिनको अवधिमा कार्य क्षेत्र छाडेर अन्यत्र नजान र कार्यालय काम काजको सिलसिलामा जानु परेमा सुरक्षित रुपमा स्वास्थ्य सुरक्षाको दृष्टिकोण सुरक्षा अपनाउन सचेत गराइएको छ ।
नगरप्रमुख खनालले जारी गरेको विज्ञप्तीमा कोरोना रोगको सक्रमणको कारण अलिहेको विषम परिस्थितिमा बेलकोटगढी नगरपालिका जनताको जीवन रक्षाको लागी पूर्ण रुपमा प्रतिवद्ध र तयारी अवस्थामा रहेको जानकारी गराउनुभएको छ । उहाँले नगरबासीलाई पनि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर रोग विरुद्ध लड्न उच्च नैतिक मनोबल, दृढ विश्वासका साथ विचलित नहुन पनि अपिल गर्नुभएको छ ।