कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको टोलमा नागरिकहरु रातारात गाउँतिर जाने गरेको स्थानीयले बताएका छन् । विदुर नगरपालिका वडा नं। ९ को कोलनीको किम्ताङटोल क्षेत्रमा एक साता अघि नै एक जनामा कोरोना संक्रमणको पुष्टि भएपछि उक्त क्षेत्रका स्थानीय प्रशासनले निषेधाज्ञ जारी गरेको थियो । तर, उक्त टोलका स्थानीयहरु रातीराती हिडेर नै गाउँतिर गईरहेको वडा नं। ९ का वडाअध्यक्ष सनी चित्रकारले बताउनुभयो । ‘राती राती गाउँतिर गईरहेका छन् । उनीहरुलाई कसले रोक्ने हो । तर, प्रहरीले चासो दिएको छैन’ वडाअध्यक्ष चित्रकारले भन्नुभयो ‘मानिसहरु आवतजावत गर्दा गाउँमा पनि फैलने डर भयो ।’
विदुर नपा वडा नंं। ९ मा गत शुक्रबार समुदायका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । यस अघि फेला परेको ‘कन्ट्याकट्रेसिङ’ गर्नेक्रममा चार जनामा कोरोना पुष्टि भएको हो । तर, कोरोना संक्रमणको पुष्टि भएका घरमा अन्य मानिसहरु समेत वल्लो पल्लो घरमा जाने, गफ गरेर बस्ने, पधेरामा पानी लिन जाने जस्ता कार्य निर्वाध रुपमा गरिरहेको गुनासो आएको वडाअध्यक्ष चित्रकारले बताउनुभयो ।
वडाअध्यक्ष चित्रकारले स्थानीय प्रशासनलाई उक्त गुनासो गर्दा पनि चासो नदिएको बताउनुभयो । उहाँले यहाँबाट किस्पाङ र म्यागङतिर पनि स्थानीयहरु गईरहेकोले कोरोनालाई गाउँतिर पनि फैलाउने जोखिम बढेकोले गाउँपालिकाहरुले चासो दिनु पर्ने बताउनुभयो । ‘स्थानीयलाई सम्झाई बुझाई गर्दा पनि वास्ता नगर्ने, गम्भीरतापूर्वक नलिने, प्रहरी प्रशासनले पनि चासो नदिदा रोग भूसको आगोसरह फैलने डर बढ्यो’ वडाअध्यक्ष चित्रकारले भन्नुभयो ।
स्वास्थ्य कार्यालयले कोरोना समुदायमा फैलिइसकेकोले सचेत र सावधान रहन आग्रह गरेपनि स्थानीयले अटेर गरिरहेका छन् । स्वास्थ्य कार्यालयका एक अधिकृतले पनि कोरोना टोलमा देखिएपछि नागरिकहरु गाउँ जान थालेकोले यस्तो कार्य रोक्न पहल गर्न स्थानीयहरुले अनौपचारिक जानकारी दिएको बताए ।
कोलनी क्षेत्रमा किस्पाङ, म्यागङ र धादिङतिरबाट आएर बसोबास गर्नेहरु उल्लेख्य रहेका छन् ।