कोरोना रोगको सक्रमणको जोखिमको कारण रसुवामा सार्वजनिक सवारी साधान चलाउन रोक लगाइएको छ । यसअघि जिल्लाभित्र मात्र सार्वजनिक यातायात सवारीसाधान चलाउन दिदै आएपनि हिजोदेखि भने आन्तरिक रुपमा पनि सार्वजनिक गाडी चलाउन रोक लगाइएको हो ।
जिल्लाभित्र सञ्चालन भएका सार्वजनिक गाडीले कोरोना संक्रमित जिल्लाबाट पनि यात्रु ल्याउने गरेको, न्यूनतम स्वास्थ्य सुरक्षाको पालना नगरेकाले रोक लगाइएको संकट व्यवस्थापन केन्द्र रसुवाले जनाएको छ ।
केन्द्रको सोमबार बसेको बैठकले जिल्लामा रहेका सबै सरकारी, अर्धसरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयहरूले सेवा प्रवाह गर्दा हुनसक्ने भीडभाडलाई कम गर्न तोकिएको सम्पर्क व्यक्तिलाई फोन गरेर मात्र कार्यालय आउनुपर्ने नियम लागु भएको छ ।
जिल्लाभित्र रहेका मन्दिर, गुम्बा, चर्च लगायतमा सामूहिक भेला हुन नदिने, सामूहिक भेला हुने किसिमका मेला, जात्रा, पर्व, समारोह गर्न रोक लगाउने सम्मेलन तथा जमघटका कार्यक्रम नगर्ने लगायतको निर्णय गरिएको छ ।
यसैबीच, बालबालिका, जेष्ठ नागरिक, दीर्घरोगी र गर्भवती महिलाहरूलाई अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र हिँडडुल नगर्न अनुरोध गरिएको छ ।
अग्रपक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको कोरोना परीक्षणका लागि आवश्यक व्यवस्था गरिने निर्णय गरिएको छ ।