धादिङको सदरमुकाम स्थित सिरानबजारका ३९ वर्षीय होटल व्यवसायीको मृत्यु कोरोना संक्रमणबाट पुष्टि भएपछि जिल्ला सदरमुकाम पुनः लकडाउन गरिएको छ । नीलकण्ठ नगरपालिका १४ छाप निवासी ती व्यवसायी बस चालेक समेत थिए । लकडाउन खुकुलो भएपछि उनी दैनिक जसो धादिङ काठमाडौं सिमाना खत्री पौवासम्म यात्रु ओसार्ने गरेका थिए ।
कमलपित्त लगायत रोगको उपचार गराइ रहेका उनलाई आइतबार उच्च ज्वरो आएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पताल काठमाडौंमा भर्ना भएका थिए । हिजो उनको कोरोनाका कारण अस्पतालमै मृत्युभएपछि सेनाको टोलीले शव व्यवस्थापन गरेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले बताउनुभएको छ। आज बिहान बसेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितीको आकस्मिक बैठकले धादिङको सदरमुकाम लकडाउन गर्ने निर्णय गरेको हो ।
एक हप्ताको अवधीमा धादिङ सदरमुकाममा ५ जना र जिल्लाका अन्य स्थानमा १० जनालाई कोरोना संक्रमण देखिएपछि जिल्ला सदरमुकाम एक हप्ताका लागि पूर्ण बन्द गर्ने निर्णय भएको भण्डारीले बताउनुभएको छ । प्रमख जिल्ला अधिकारी अस्मान तामाङले भदौ ३ गतेसम्मका लागि अत्यावसकीय सेवा बाहेक सेवाग्राहीको भीड हुने अन्य सबै सार्वजनिक सेवाहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ । अहिलेसम्म धादिङका १३ वटै स्थानीय तहमा २५ जना कोरोना संक्रमित देखिएको छ ।