यसवर्ष सरकारले झण्डै ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेको छ । धानखेती हुने जमिनमध्ये अहिलेसम्म ९८ दशमलव १९ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । मनसुन र कोरोना महामारीपछि गाउँघरमा जनशक्ति बढेपछि यसपाली अहिलेसम्मकै धेरै क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यसवर्ष अहिलेसम्मकै बढी क्षेत्रफलमा धान रोपाइँ भएको हो ।
नेपालको मुख्यबाली धान १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । त्यसमध्ये यो वर्ष अहिलेसम्म १३ लाख ४६ हजार ९ सय २० हेक्टरमा धान रोपिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रोपाइँ अन्तिम चरणमा पुगेको छ । अझै ८र१० अर्थात् भदौको पहिलो हप्तासम्ममा रोपाइँ गर्न सकिनेछ । मन्त्रालयका अनुसार मौसमले साथ दिए यसपटक ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । गएको आर्थिक वर्षमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यसअघि लगाएको धानबाली गोडमेल गर्ने बेला भैसक्दा पनि मलको समस्या उस्तै छ । रासायनिक मल नपाउँदा किसानलाई समस्या भएको छ । मनसुनले साथ दिएपछि समयमै धान रोपाइँ सकेका किसानलाई यो बेला युरिया मलको अभाव भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खेबालीका लागि झण्डै ७० हजार मेट्रिक टन युरिया र डीएपी मल आवश्यक पर्छ । त्यसमा पनि साउनदेखि भदौसम्म १ महिना झण्डै ४० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । तर हरेक वर्षजस्तै यसवर्ष पनि किसानले समयमै मल पाउन सकेका छैनन् । भारतबाट आउने भनेको युरिया र डीएपी मल अझै पनि आइसकेको छैन ।
कृषि मन्त्रालय, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले कोरोना सङ्क्रमण र लकडाउनका कारण चाहेर पनि धानबालीसहित बर्खे बालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकेको जनाएका छन् । कृषि मन्त्रालयका प्रवक्ता डाक्टर केसीले लकडाउनका कारण असार पहिलो हप्ता आउनुपर्ने मल अहिलेसम्म नआएको तर भदौको दोस्रो हप्तासम्म ल्याउने गरी प्रकृया अघि बढेको बताउनुभएको छ । झण्डै ५ महिनादेखि युरिया मल भारतमा अड्किएको छ ।