• २५ माघ २०७९, बुधबार

धादिङमा राजमार्गसहित सदरमुकाममा निषेधाज्ञा लागू राजमार्ग सुनसान

धादिङमा राजमार्गसहित सदरमुकाममा निषेधाज्ञा लागू गरिएको छ । हिजो बसेको बैठकले गएरातिदेखि लागू हुने गरी एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको हो । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिनुभयो । निषेधाज्ञाको पहिलो दिन धादिङबेसी बजार बिहानैदेखि सुनसान बनेको छ । औषधि पसल, फलफुल पसल र खाद्यान्न पसलबाहेक अन्य सम्पूर्ण पसलहरु पूर्णरुपमा बन्द भएका छन् ।

जिल्लामा होटल संचालक, प्रहरी प्रमुख, रेडक्रस कर्मचारी समेतलाई कोराना भाइरसको संक्रमण देखिएपछि बजार क्षेत्रमा जोखिम बढेको हो । कालुपाण्डे राजमार्गको फुर्केखोलादेखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाको वडा नम्बर २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा भाद्र ३ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो । अहिले अत्यावश्यकबाहेकका सबै यातायात पूर्णरुपमा बन्द भएको छ । त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्लाभित्र पर्ने क्षेत्रमा होटल, बैंक तथा वित्तीय संस्था र जिल्लाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।

निषेधाज्ञाको अवज्ञा वा अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणबाट धादिङको नीलकण्ठ नगरपालिकामा एक जनाको मृत्यु भएको र सङक्रमण स्थानीयमा फैलिएको भन्दै धादिङमा निषेधाज्ञा जारी गरीएको हो निषेधाज्ञापछि राजमार्गमा गाडी चलेका छैनन् । आवतजावत नै नभएपछि राजमार्ग सुनसान बनेको छ । नागरिकलाई सावधानी अपनाउन नीलकण्ठ नगरपालिकाले आग्रह गरेको छ । कोरोना सङ्क्रमितको संख्या बढेपछि प्रशासनले भाद्र ३ गतेसम्म जिल्ला भित्र विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।





प्रतिक्रिया दिनुहोस्