पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या २५ हजार ५५१ पुगेको जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै ११ हजार ५७५ नमुना परीक्षण गरिएको छ । त्यसक्रममा काठमाडौं उपत्यकाका ११९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ९ जना रहेका छन् ।
यसैगरी, पर्साका ७१ जना, मोरङ ५३, सुनसरी, महोत्तरी र बाराका २४÷२४ जना, तनहुँ र बाँकेका २२÷२२ जना, सुर्खेतका २१, मकवानपुरका १८ तथा सप्तरी, सर्लाही, चितवन र रुपन्देहीका १४÷१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिन्धुलीका ११ जना, झापा र कैलालीका ९÷९ जना, सिराहा र अछामका ६÷६ जना, रौतहट, बर्दिया र कपिलवस्तुका ५÷५ जना, दैखेलका ३ तथा सिन्धुपाल्चोक, नवलपुर र कञ्चनपुरका २÷२ जनामा संक्रमण देखिएको छ । नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, उदयपुर, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङका १÷१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २४० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६१३ परीक्षणहरु गरिएका छन् भने पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ७५ पीसीआर परीक्षण भएका छन् । यस्तै, अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको मन्त्रालयले जनाएको छ ।