कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक÷एक जना रहेका छन् ।
मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरी आजसम्म ११३ जना कोरोना संक्रमित आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएको छ । भेन्टिलेटरमा उपचाररत सबै संक्रमित वागमती प्रदेशका रहेका छन् । प्रदेश १ मा १, प्रदेश २ मा ४१ , वाग्मती प्रदेशमा ५९ , गण्डकी प्रदेशमा १ र प्रदेश ५ मा ११ जना कोरोना संक्रमितहरुको आईसीयूमा उपचाररत रहेको छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।