• २८ बैशाख २०८२, आईतवार

कोरोना रोगको सक्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गर्ने गरिएको छ । आज बसेको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठकले आजराती १२ बजेदेखि लागू हुने गरेर एकसाताको लागी निषेधाज्ञा थप गर्न सिफारिस गरे अनुसार केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सूचना जारी गर्दै निषेधाज्ञा थप गरेको जानकारी दिनुभएको छ । उहाँको अनुसार गत साउन २५ गतेदेखि दश दिनको लागी लगाइएको निषेधाज्ञा आजराती सकिने भएकाले रोगको सक्रमण थप फैलन नदिनका लागी पुनः बढाउने निर्णय गरिएको हो । जिल्लाको सरोकारवालाहरुसंग गरिएको छलफल, अहिले कायम रहेको अबस्थाको विश्लेषण तथा समीक्षा गर्दै एक साताको लागी पुनः निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभएको छ ।

स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार जारी गरिएको निषेधाज्ञा नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका, लिखु, सूर्यगढी, दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सबै स्थानमा तोकिएको छ । यसैगरी, तादी गाउँपालिकाको वडा नं. २, ३, ४ र ५, तारकेश्वर गाउँपालिकाको वडा नं. २, ४, ५ र ६ र ककनी गाउँपालिकाको पासाङल्हामु राजमार्ग आसपासमा पर्ने वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा कायम हुने निर्णय गरिएको हो । निषेधाज्ञा जारी भएका क्षेत्रमा औषधी उपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कामगर्न लगायत अति आवश्यक कामका लागी बाहेक कुनैपनि व्यक्ति घर बाहिर निस्कन नपाउने, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने साधन तथा अनुमति प्राप्त सवारी साधन बाहेक अन्यलाई चल्न नपाउने व्यावस्था गरिएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु बिक्रि गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल बाहेकका अन्य पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नपाउने भनिएको छ । खाद्यान्न पसल समेत बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा मात्र खोल्न दिने निर्णय बैठकले गरिएको छ । निषेधाज्ञा तोकिएको क्षेत्रमा स्वास्थ्य सँस्था र अत्यावश्यक सेवा प्रवाहका कार्यालय खुल्न पाउनेछन् भने बैंक, वित्तीय संस्था, सहकारी सँस्था सहित सरकारी, निजी तथा गैह्रसरकारी क्षेत्रका कार्यालयको सेवाहरु बन्द गर्न भनिएको छ । धार्मिक, साँस्कृतिक, सामाजिक लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापमा पनि रोक लगाइएको छ । जिल्ला भित्रने सबै नाकाबाट अतिआवश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारीसाधन बाहेक अन्य सवारी साधन र पैदलयात्रुलाई समेत आवात–जावतमा गर्न नपाउने व्यावस्था बैठकले गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार कोरोना रोगको सक्रमणबाट नुवाकोटमा आजसम्म ७२ जना संक्रमित देखिएका छन् । सक्रमित मध्ये ३१ जना समुदायस्तरमा देखिएको र उनीहरुको श्रोत समुदायबाटै फैलिएको पुष्टिभएसगैँ थप सक्रमण फैलन नदिन निषेधाज्ञा बढाउने निर्णय गरिएको र यसबीचमा जिल्ला बाहिर भएकालाई उतै र यहाँ भएकालाई यहाँबाट अन्यत्र नजानके लागी उहाँले आग्रह गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले कोरोना रोग नियन्त्रणको लागी जिल्ला बाहिर गएर फर्केमा आफू पनि एकान्तबासमा बस्न तयार रहेको भन्दै बाहिर जिल्लाबाट विशेष गरेर काठमाडौबाट आउने सबैलाई अनिवार्य १४ दिनसम्म एकान्तबासमा बस्न आग्रह गर्नुभएको छ ।





प्रतिक्रिया दिनुहोस्