विश्व स्वास्थ्य संगठनले २० देखि ४० वर्ष उमेरका मानिसबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले बयस्क उमेर समूहका धेरै मानिसलाई ‘आफू संक्रमित छ’ भन्ने थाहा नहुँदा संक्रमण फैलिँदै गएको बताएको हो । यसअघि जेष्ठनागरिक व्यक्तिमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय विश्वव्यापी रुपमै यूवाका व्यक्तिहरुमा संक्रमण देखिने क्रम बढिरहेको छ । यसले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नभएका क्षेत्रका बूढाबूढी र बिरामी व्यक्तिहरुलाई जोखिममा पारेको पनि डब्लूएचओले बताएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको भनिएका देशहरुमा समेत पछिल्लो पटक तीव्र रुपमा संक्रमण फैलिइरहेको भन्दै विश्व स्वास्थ्य संगठने कोरोना रोग विरुद्धको खोप निर्माण गरिरहेका सबैलाई आवश्यक अनुसन्धान पद्धति र विकासको चरणलाई पालना गर्न पनि आग्रह गरेको छ । करिब ९ महिनाअघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वभर संक्रमित हुनेको संख्या २ करोड १८ लाखभन्दा बढी पुगेको छ । यस्तै, कोरोनाबाट ७ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना पुष्टि भएकामध्ये करिब एक करोड ३८ लाख निको भएका छन् ।