नुवाकोटको लिखु गाउँपालिकाको वडा नं.४ चौघडा सहित आसपासको क्षेत्रमा समुदायस्तरमा कोरोना रोगको सक्रमण फैलिएको पुष्टि भएसगैँ त्यस क्षेत्रमा भदौ १६ गतेसम्मको लागी सिल गरिएको छ । आज बसेको लिखु गाउँपािलकास्तरीय विपद् व्यावस्थापन समितिको बैठकले वडा नं. ४ मा चारकिल्ला निर्धारण गरेर १६ गतेसम्मको लागी सिल गरेर त्यस क्षेत्रमा रहेका सबै सेवाहरु बन्द गरिएको छ भने आउजाउ गर्न पनि रोक लगाइएको गाउँपालिकाको कार्यबहाक अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष रोजिना राईले जानकारी दिनुभएको छ ।
समितिको बैठकको पूर्वमा गैरीगाँउ लिखुखोला, पश्चिममा तादी खोला, दक्षिणमा गंगार पुछारहुदै गंगारपुलसम्म र उत्तरमा पञ्चकन्या गाउँपालिकाको सीमा कुनी खोला खोल्सासम्म दश दिनको लागी सिल गरिएको छ । चौघडा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई नै कोरोना रोगको सक्रमण देखिएसगैँ त्यसक्षेत्रमा सिल र सेवा बन्द गरिएको छ भने लिखु गाउँपालिकाको कार्यालय र अन्य वडा कार्यालयबाट प्रवाह हुने अति आवश्यक बाहेकका बाँकी सेवाहरु पनि १६ गतेसम्मको लागी बन्द गरिएको योजना तथा प्रशासकीय अधिकृत रामचन्द्र लामिछानेले जानकारी दिनुभएको छ । स्वास्थ्य सँस्थाको अग्रपक्तिमा रहेर सेवा पुराउदै आएका व्यक्तिमा कोरोनाको सक्रमण भएको नतिजा हिजो आएसगैँ रोगको सक्रमणको जोखिम निकै भयाबह बनेको हुनसक्नेभन्दै विपद् व्यावस्थापन समितिको बैठकले सक्रमित देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा जोडिएकाहरुको नमूना संकलनको लागी सिल गरिएको क्षेत्रमा बाहिरका व्यक्तिहरु प्रवेशमा रोक लगाइएको छ भने त्यस क्षेत्रका बासिन्दालाई अन्यत्र जान निषेध गरिएको छ ।
अति आवश्यक बाहेकका सवारी साधन, बजार पसल मात्र चल्ने, धार्मिक तथा सास्कृतिक कार्यक्रम सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । यसैबीच, सक्रमित व्यक्तिसंग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको आजदेखि सुरु भएको खोजपड्ताको क्रममा १८८ जनाको स्वाबको नमूना संकलन गरेर जाँच गराउन पठाइएको छ । प्रमुख प्रशासकीय अधिकृत भेषबहादुर कुंवरको अनुसार स्वास्थ्य चौकीबाट सेवा लिएका बिरामी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासी लगायत प्रत्यक्ष सम्पर्कमा जोडिएका १८८ जनाको नमूना लिएर आजै जाँच गर्न पठाइएको छ ।नमूना जाँचको लागी पिसिआर परीक्षण गराएका व्यक्तिलाई नतिजा प्राप्त नभएसम्मको लागी घरकै क्वारेन्टिनमा बस्नको लागी पनि स्वास्थ्य शाखाले सबैलाई अपिल पनि गरेको छ ।