• ६ बैशाख २०८१, बिहीबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ सुरु

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ सुरु गरेको छ ।प्राधिकरणले पाँच वर्षदेखि गरेका कामको अनुभव आदानप्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आजदेखि सुरु गरेको हो ।

तीन दिनसम्म चल्ने कार्यक्रममा २०७२ सालको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुर्नस्थापनाको कामबाट प्राप्त गरेका अनुभव र सिकाइ आदान–प्रदान हुने छ । कार्यक्रमको सुरुवात गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणका धेरैजसो काम सम्पन्न गरेको बताउनुभएको छ । सात लाख ९० हजारभन्दा बढी निजी घरको पुनर्निर्माणका लागि अनुदान सम्झौता सम्पन्न भएकोमा अहिलेसम्म ७६ प्रतिशत अर्थात् ६ लाखभन्दा बढी घर पुनर्निर्माणको अन्तिम चरणमा पुगेको जानकारी उहाँले दिनुभएको छ । यसैगरी, ८८ प्रतिशत घरको दोस्रो चरणको काम सम्पन्न भएको र ९० प्रतिशत घरधनीले निर्माणका लागि सम्झौता गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

यस्तै, चार हजार आठ सय २९ घरमध्ये अधिकांशलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने बाँकी रहेकाहरु पनि प्रक्रियाको अन्तिम चरणमा पुराइएको दाबी गरिएको छ । सात हजार पाँच सय ५३ विद्यालयमध्ये ७५ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दिनुभएको छ । उहाँको अनुसार सामुदायिक भवन, सांस्कृतिक सम्पदा, स्वास्थ्य संस्थालगायतका संरचनाको पुनर्निर्माण पनि सन्तोषजनक पाइएको छ । पुनर्निर्माण र पुर्नस्थापनाका क्रममा प्राप्त भएका सफलता, उपलब्धि एवं कमीकमजोरीबारे परिसंवादमा समीक्षा हुने र साझा धारणा निर्माण हुने विश्वास गरिएको छ । प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र अभिलेखीकरण गर्ने उद्देश्यले आगामी मंसिरमा काठमाडौमा अन्तर्राष्ट्रिय सम्मेलन समेत गर्ने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्