गएको भदौ ३ गते बाराको कलैया उपमहानगरपालिका १० मा ५९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण ज्यान गयो । अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्जको विभिन्न अस्पताल डुलाउँदा डुलाउँदै अन्त्यमा नारायणी अस्पतालमा पुगेपछि ती पुरुषको ज्यान गएको हो ।
गएको साउन २३ गते वीरगञ्ज २ छपकैयाकी २० वर्षीया महिलाको सातवटा अस्पताल चाहार्दाचाहार्दै भर्ना नपाएपछि ज्यान गएको खबर सार्वजनिक भयो । यस्तै संखुवासभाबाट हेलिकप्टरमा काठमाण्डौ थापाथलीमा रहेको प्रसूतिगृहमा जेठ ९ गते राति ल्याइएकी ३२ वर्षीया गंगा कार्कीलाई थप उपचार गर्न भेन्टिलेटर भएका अस्पताल आवश्यक पर्यो । तर भेन्टिलेटर भएका वीर, पाटन र शिक्षण अस्पताललगायतका ठूला अस्पतालले भर्ना लिन नमानेपछि उहाँको ज्यान गयो । पीसीआर रिपोर्ट पोजेटिभ र नेगेटिभ भएका बिरामीलाई कोरोनाको कहरसँगै अरु स्वास्थ्य सेवा र उपकरण असहज भएका उदाहरण हुन् यी । कोरोनाका कारण कतिपय अस्पतालले बिरामीको भर्ना लिन मान्दैनन् । कतिपय अस्पतालले भने शंकाको भरमा नै भर्ना लिन मान्दैनन् ।
कतिपयको आईसीयू र भेन्टिलेटरको अभावका कारण विभिन्न अस्पताल चाहार्दाचाहार्दै ज्यान जाने गरेको छ । सहजै अस्पताल पुग्न नसक्ने, पुगे पनि उपचार नपाउने, उपचार पाए पनि उचित नपाउने र अस्पताल धाउँदाधाउँदै बिरामीको ज्यान जाने । अर्को अस्पतालमा रेफर गर्नमा पछिल्लो समय कोरोना बहाना बनेको छ । केही दिनअघि मात्र सरकारले कोरोना सङ्क्रमितहरुलाई आइसोलेशन बेड र आईसीयूमा भर्ना हुनका लागि स्वास्थ्य मन्त्रालयका कर्मचारी र अस्पतालसँग समन्वय गर्नुपर्ने भन्दै निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनसहितको परिपत्रका कारण अबदेखि सङ्क्रमित भइ अस्पतालमा भर्नाका लागि स्वास्थ्य मन्त्रालयको क्लिनिकल म्यानेजमेन्ट टिमको अनुमति लिनुपर्ने भएको छ । त्यसपछि मात्रै सङ्क्रमितले अस्पताल भर्ना हुन पाउने छन् । यसबाट पहुँचवालाले मात्र अस्पतालको आईसीयू र भेन्टिलेटर पाउने अवस्था आएको छ । उपत्यकालगायत देशभर नै कोरोना सङ्क्रमित बढ्दै गएका छन् । सङ्क्रमित बढ्दै गएको बेला सरकारले लक्षण नभएकालाई घरमा नै राख्ने र लक्षण भएकालाई अस्पतालको आइसोलेशनमा राख्ने भनेको छ ।