काठमाडौं उपत्यकामा थप ३०१ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन नपाईने, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्णय गरिएको छ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।यस्तै, नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान नौ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न पाउने व्यावस्था गरिएको छ । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने बैठकले निर्णय गरेको छ ।