• २९ माघ २०८१, मंगलवार

महिला सांसदहरुले १६ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुनको व्यवस्था गर्नुपर्ने माग

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । विभिन्न राजनीतिक दलबाट नेतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागीहरुले संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धिसमेत संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेस प्रतिनिधि सभा सचेतक पुष्पा भुसालले १६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले संविधान संशोधन गर्नुपर्छ । अन्तर्राष्ट्रिय सन्धि सम्झाैता परिमार्जन गर्न सकिन्छ । संसदमा भन्दा पनि भएन । मृत्युदण्डका लागि संविधान, कानुन संशोधनको र अन्तर्राष्ट्रिय सन्धिहरुको परिमार्जन गरेर त्यसमा पुनरावलोकन गर्ने आवश्यकता देखिएको छ । त्यसले दबाब सिर्जना गर्छ र मनोवैज्ञानिक असर पार्नका लागि सन्देश जान्छ ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रतिनिधिसभा सचेतक शान्ता चौधरीले विश्वका विभिन्न देशमा त्यस्ता घटनाहरुमा मृत्युदण्ड दिने गरेका समाचार अइरहेका बेला नेपालको सन्दर्भमा के गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आपराधिक मानसिकता बोकेकाहरुलाई झट्का लाग्ने गरी मृत्युदण्डको कानुन हुन्छ वा लिङ्ग छेदन गर्ने हुन्छ, के गर्न सकिन्छ गरौँ । मृत्युदण्ड कत्तिको सहज छ ? यो विषयमा हामीभन्दा पनि कानुनको विषयमा तपाईँ जानकार हुनुहुन्छ । उनीहरूले मान्छे मार्छन् भने उनीहरूका लागि राम्रो कानुन बनाइराख्नु पर्दैन । संसद् भएको भए के–के गर्ने हो, त्यहीँ गरिन्थ्यो । तर नभएको बेलामा संसदीय समितिमा हामीहरू छलफल गरौँ ।’

महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले नाबालकलाई बलात्कार गरेर हत्या गर्नेलाई फाँसीको सजाय हुनुपर्ने विषयमा समितिले विगत एक वर्षबाट नै अनौपचारिक छलफल सुरु गरेको बताउनुभयो । संसद्को सबै महिला सांसदहरु एक ठाउँमा भएर समितिको तर्फबाट यसका लागि सरकारलाई निर्देशन दिँदा अझ दबाब बढ्ने भएकाले कम्तीमा पनि एसिड आक्रमणसम्बन्धी कानुन जस्तै कडा कानुन बनाउनुपर्ने बताउनुभयो । 





प्रतिक्रिया दिनुहोस्