• २६ माघ २०८२, आईतवार

नेपालकै सबैभन्दा ठूलो सौर्य ऊर्जा देवीघाट सोलार आयोजना कोभिड १९ को कारण प्रभावित

कोभिड १९ महामारीका कारण सामान आयात गर्न नसक्दा नेपालकै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजनाको काम अलपत्र परेको छ ।
नेपाल विद्युत प्राधिकरणले अघि २५ मेगावाटको देवीघाट सोलार आयोजना कोभिड १९ को प्रतिकूलताले प्रभावित हुँदा काम रोकिएको छ । गत जेठमै यस आयोजनाबाट १.२५ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय ग्रीडमा जोडिएको थियो । त्यसको एक महिना भित्रै थप १० मेगावाट उत्पादन गर्ने घोषणा गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेर रोकिएको प्राधिकरणले जनाएको छ ।

कोभिड १९ लाई कारण देखाउँदै चीनले उत्तरी नाका बन्द गरेपछि आवश्यक उपकरणहरु ल्याउन नसक्दा अन्तिम अवस्थामा पुगेको १० मेगावाट विद्युत उत्पादनको काम रोकिएको सोलार आयोजनाका प्रमुख विकास रघुबंशीले बताउनु भयो ।
सातवटा खण्ड बनाएर सुरु गरिएको यस परियोजनामा हालसम्म दुईवटा खण्डको काम सकिएको छ । अर्को दुई खण्डमा अहिले पनि काम भइरहेको छ । रघुबंशीका अनुसार बाँकी तीनवटा खण्डको काम भने वातावरणीय प्रभाव मूल्यांकनकै क्रममा रहेका छन् ।
काम पूरा भएको खण्डअन्तर्गत १.२५ मेगावाट विद्युत उत्पादन भइसकेको हो । यस्तै काम जारी रहेको खण्डमा थप १० मेगावाट विद्युत उत्पादन प्लान्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको र अर्को ५ मेगावाटको निर्माण जारी रहेको हो । बाँकी तीन खण्डबाट ८ मेगावाट विद्युत उत्पादन गर्ने साइटको भने काम नै सुरु भएको छैन ।

सरकारले केरुङ नाकाबाट सामान ल्याउन परराष्ट्र र ऊर्जा मन्त्रालयमार्फत पहल गरे पनि कुनै निकास निकाल्न सकेको छैन । केरुङबाट सामान ल्याउन नसकिने भए तातोपानी नाकाबाट ल्याउन पनि पहल गरिएको आयोजना प्रमुख रघुबंशीको भनाई छ । तर अहिलेसम्म सामान कहिले आउँछ भन्ने कुनै ठेगान नभएको उनी बताउँछन् ।
आयोजनाले सोलार प्यानल जडान गरिसकेकाले सामान आएको एक महिनाभित्र यस परियोजनाबाट थप विद्युत उत्पादन गर्न सक्ने अवस्था छ । तर सामान आउने अवधि सुनिश्चित नभएकाले लगभग सबै काम सकिएको १० मेगावाट विद्युत कहिले राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ भन्ने टुंगो नलागेको आयोजना प्रमुख रघुबंशीले बताउनु भयो ।

काम सुरु गरेको एक वर्षभित्र निर्माण सक्ने भन्दै ऊर्जामन्त्री वर्षमान पुनले २०७५ वैशाखमा आयोजनाको शिलान्यास गर्नुभएको थियो । तर, २५ मेगावाट नै उत्पादन भइसक्नेगरी एक वर्षमा सम्पन्न गर्ने भनिएको आयोजनाबाट दुई वर्ष बितिसक्दा पनि २ मेगावाट पनि बिजुली उत्पादन नभएकाले थप २३.७५ मेगावाट विद्युत उत्पादनको भाखा लम्बिदै गएको छ ।





प्रतिक्रिया दिनुहोस्