
नुवाकोट वैशाख ३० । कोरोना भाइरस महामारीविरुद्ध जारी निषेधाज्ञाको मौकामा नुवाकोटको गुर्जेभञ्ज्याङ-छहरे सडकखण्ड मर्मत कार्यमा अति लापरबाही गरेको पाइएको छ ।
सडक सुधार जारी रहेको उक्त खण्ड चाँपाबोटलगायत क्षेत्रमा जिल्ला डिभिजन सडक कार्यालयबाट खटिएका प्राविधिकको बेवास्ताका कारण गुणस्तरहीन काम भएको पत्ता लागेको हो ।
त्यस्तै ढलानमा गिट्टी प्रयोग गर्नुपर्नेमा पेबल प्रयोग गरेको (पेबल क्रसरको खेर जाने माल हो, जुन क्रसरले नकुटी छनी निकाल्ने गर्छ), ढलान कम गरेको तर उचाई पुर्याउनका लागि ढुङ्गाको सोलिङ बढी गरेकोजस्ता कैफियत भेटिएको छ ।


नुवाकोट, रसुवा र धादिङ उत्तरका सर्वसाधारणका लागि काठमाडौं आउन सबैभन्दा छोटो मार्गमा विभिन्न भागमा अहिले काम जारी छ । जिल्ला सडक डिभिजन कार्यालयका अनुसार ६ करोड विनियोजन भएको रकमबाट सडक सुधारको कार्यक्रम भइरहेको छ । गत आर्थिक वर्षमा पनि नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङको पहलमा १० करोड विनियोजन गरी सडक सुधार भएको गरिएको छ । अहिले पनि सांसद् तामाङकै पहलमा ६करोड विनियोजन भएको नुवाकोट शिवपुरी गाउँपालिका (माओवादी केन्द्र)का अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए ।
गुर्जे-छहरे सडकअन्तर्गत आजभोलि सुनखानी ढलानघर पश्चिमको भीरमा बाटो फराकिलो पार्न कटिङ भइरहेको छ । त्यही रकमले चाँपबोटको तल र माथि पनि ड्रेन, वाल र ढलानको कामहरु a छन् । काफलडाँडा माथिल्लो भेगमा पनि वाल, ड्रेन र ढलानको काम भइरहेको छ । त्यस्तै गुरुङगाउँ कुनाभीरमा पनि ढलानको काम पनि सोही बजेटबाट भएको हो ।

‘कतिपय ठेकेदार र जिल्लाबाट खटिएका सुपरभाइजरहरुका कारण गत सालको १० करोड रकमबाट भएको काम पनि धेरै ठाउँमा राम्रो देखिए पनि चाँपको बोट माथिको ढलान अहिले नै उत्रिन थालिसकेको छ l
उक्त सडक खण्डमा मंगलादेवी सुवास कन्स्ट्रक्सन, रत्न निर्माण सप्लायर्स लगायत कम्पनीले निर्णमा जिम्मा लिएका छन् । चाँपाबोट क्षेत्रमा निर्माणको जिम्मा पाएको रत्न निर्माण सप्लायर्सका राजा लामाले भने सुपरभाइजर निर्देशन र निर्माण मापदण्ड अनुसार नै आफूहरुले गुणस्तरमा ध्यान दिएर काम गरिरहेको बताएका छन् ।
यसबारे जानकारीका लागि हामीले जिल्ला डिभिजन सडक कार्यालयका प्रमुख नारायण दत्त भण्डारीलाई सम्पर्क गर्दा उहाँको फोन उठेन।