नुवाकोट, ४ जेठ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहतका सबै अस्पतालमा क्षमताअनुसारको अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिएका छन् ।
मुख्यमन्त्री पौडेलले सोमबार प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुखहरु , महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिँदै तत्कालका लागि अस्पताललाई आवश्यकता परेका कुराहरुको समाधान गर्न सरकारले के गर्नुपर्छ रु तयार रहेकोले आवश्यक माग गर्न बताएका छन ।
मुख्यमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारलाई कोभिड नियन्त्रणका लागि संघीय सरकारले पूर्ण अधिकार दिएकोले कोभिड नियन्त्रणका लागि आवश्यक रकम खर्च गर्न नहिच्किचाउन अनुरोध गरेका छन् । महामारी नियन्त्रणमा पैसा वा अन्य आवश्यकता वाधक हुननहुने उहाँको भनाइ थियो ।
आवश्यकताअनुसारको आईसोलेशन, कोभिड अस्पताल र ति अस्पतालहरुलाई आवश्यकपर्ने जनशक्तिलगायतका आवश्यकताको अभाव हुन नदिन सरकार सक्रृय रहेको बताए ।
सोमबार भिडियो कन्फेरेन्समार्फत भएको कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, सामजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारी १३ वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका, गाउँपालिका महासंघका अध्यक्षहरु, महानगर तथा उपमहानगरपालिकाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीहरुले कोभिड १९ ले पारेको समस्याका विषयमा जानकारी गराउनुभएको थियो।