काठमाडौं । बोधिसत्त बिहार बुढानिलकण्ठ काठमाण्डौले नेपाल पत्रकार मञ्चलाई कोरोना भाइरसको संक्रमणबाट जोगिनका निम्ति विभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
नेपाल पत्रकार मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण गरे ।
विहारले पत्रकार मञ्चलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) २०० थान, केएन ९५ माक्स २०० थान, सर्जिकल माक्स १० हजार थान, पञ्जा ५०० थान र सेनिटाइजर ५०० मि.लि.को २०० थान उपलब्ध गराएको हो ।
स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्दै विहारका अध्यक्ष हुई गुआङले सामाजिक सेवा गर्ने हेतुले अहिलेको जटिल परिस्थितिमा कोभिड प्रभावित व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए । उनले भने, ‘पत्रकारहरुको स्वास्थ्य सुरक्षाका निम्ति सहयोग गर्न पाउनु हाम्रो लागि खुशीको क्षण हो ।’ कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले कोभिड–१९ को प्रत्यक्ष मारमा नेपालका पत्रकारहरु समेत परेको बताए ।
कुनै पनि सहयोग सानो वा ठूलो संख्यामा निर्धारण नहुने बताउँदै उनले भने, ‘कुनै पनि सहयोग सानो वा ठूलो भन्ने कुरा त्यसको मात्राले निर्धारण गर्दैन, बरु पवित्र भावनाले गरिएको जुनसुकै सहयोग महत्वपूर्ण हुन्छ ।’