नुवाकोट, २५ असार । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणले आक्रान्तपारेको यस विषम परिस्थितिमा पनि ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र (रुडेक नेपाल) ले बालबालिकाको सिकाई क्षेत्रमा अनवरत रुपमा काम गरिरहेको छ ।
नुवाकोटका सबै पालिका अन्तर्गत रहेका विद्यालयहरुमा नेपाल सरकार शिक्षा, युवा तथा खेलकुद शाखाको नीति, कार्यक्रम कार्यान्वयन योजनाअनुसार वैकल्पिक सिकाइ प्रणालीको नीति अपनाई विभिन्न शैक्षिक गतिविधिहरु संचालन भैरहेका छन् ।
नुवाकोट जिल्लामा कार्यरत गैरसरकारी संघसंस्थाहरुले पनि यसै नीतिलाई हातेमालो गर्दै सहयोग गर्दै आइरहेका छन् । उक्त बैठक जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको समन्वय, रुम टु रिडको प्राबिधिक सहयोग र रुडेक नेपालको आयोजनामा संचालन भएको थियो ।
कार्यक्रममा शिक्षा समन्वय इकाइका प्रमुख, नुवाकोटकौ सबै पालिकाका शिक्षा प्रमुखहरु, रुम टु रिड नुवाकोट फिल्ड कार्यालय र रुडेक नेपालका सम्पूर्ण कर्मचारीहरुको सक्रिय सहभागिता रहेको रुडेक नेपाल नुवाकोटका साक्षरता कार्यक्रम संयोजक फुर्वा घलेले बाग्मती प्रेसलाई जानकारी दिए ।
सबै पालिकाका शिक्षा प्रमुखहरुले यस बन्दाबन्दीको अवधिमा आ-आफ्नो पालिका अन्तर्गत भएका मुख्य गतिविधिहरु, चुनौति र आगामी योजनाहरु प्रस्तुत गरेका थिए । त्यसैगरी रुम टु रिड र रुडेक नेपालद्धारा यस अवधिमा संचालन गरेका मुख्य मुख्य क्रियाकलापहरु, कार्यक्रम कार्यान्वयन रणनीति, सिकाई, चुनौति र अगामी योजनाहरु प्रस्तुत गरिएको थियो ।
समग्रमा नुवाकोट जिल्लामा वैकल्पिक शिक्षा अन्तर्गत विभिन्न क्रियाकलापहरु जस्तैः अनलाइन कक्षा, टोल शिक्षा, रेडियो स्कुल कार्यक्रम, अभिभावक शिक्षा, फोन पाठशाला, परियोजनाकार्य, विभिन्न शैक्षिक सामग्री निर्माण र वितरण, गृहकार्य, पाठ्यपुस्तक वितरण आदि भैरहेका विषयमा छलफलबाट जानकारी गराइएको थियो।
शैक्षिक क्षेत्रमा काम गरिरहेका सबै तह र क्षेत्रका व्यक्तित्वहरु भौतिक रुपमा एउटै थलोमा बसी कार्यक्रम संचालन गर्न नसकेता पनि अनलाइन मार्फत सहभागी भई अन्तरक्रियात्मक रुपमा कार्यक्रमका प्रगति, चुनौति, आगामी दिनमा गर्न सकिने क्रियाकलापहरुको विस्तृत छलफल गर्ने अवसर मिलेकोले यो बैठक निकै प्रभावकारी भएको कुरा सहभागीहरुले व्यक्त गर्नु भएको थियो ।
रुम टु रिड केन्द्रिय कार्यालयका बालिका शिक्षा कार्यक्रम व्यवस्थापक सलिना तामाङ्गले एक आपसमा सिकाइ आदानप्रदान गर्न पाएकोमा खुशि व्यक्त गरे । त्यसैगरी नुवाकोट फिल्ड कार्यालयका निमित्त कार्यालय प्रवन्धक राधाकृष्ण हुमागाईले सबै सहभागीहरुको महत्वपूर्ण सल्लाह, सुझावको लागि आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्य र समन्वय गदै अगाडि बढ्ने बताए ।
उक्त अनलाइन बैठक रुडेक नेपालका संस्थापक अध्यक्ष मिनकुमार केसीको सभापतित्वमा संचालन भएको थियो भने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अर्जुन बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।