नुवाकोट, २९ असार । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीको मातापिताको सम्झनामा वि.सं. २०६५ सालमा स्थापना गरिएको यशाेदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटको विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
गत सोमबार जिल्लाको म्यागङ गाउँपालिकास्थित देउराली प्राथमिक स्वास्थ केन्द्रमा १ थान इ.सी.जी मेसिन, तादि गाउँपालिका (सुन्दरादेवी) र शिवपुरी गाउँपालिका (थानपति) मा एक/एक थान अक्सिजन कन्सन्ट्रेटर, विदुर नगरपालिका-३ खड्गभन्ज्याङ स्वास्थ चौकीमा ३ थान वेड, विदुर नगरपालिका-१२ स्थित चारघरे स्वास्थ्य चौकीमा २ थान वेड र १ थान अक्सिजन कन्सन्ट्रेटर, माक्स, पी.पी.ई. लगायतका स्वास्थ सामग्री हस्तान्तरण गरिएको ट्रष्टका प्रमुख संरक्षक केसीले जानकारी दिए ।
सोमबार आयोजित कार्यक्रममा प्रमुख संरक्षक केसीको उपस्थितिमा सम्बन्धित स्थानीय तहमा ट्रष्टका अध्यक्ष डा. केदार नरसिंह केसीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
”सामाजिक कामलाई राजनीतिसँग जोड्नु हुँदैन”, महासचिव केसीले भने, “मानव जगतमा परेको यो महामारीमा एकले अर्कोलाई सकेको सहयोग गर्नुपर्छ । “
कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको बिषम परिस्थितिमा जिल्लावासीलाई अक्सिजन लगायतका स्वास्थ्य सामग्री अभाव हुन नदिन ट्रष्टले व्यवस्थापनको जिम्मेवारी आफूलाई दिएकोले जिल्लाको पुरानो अस्पताल त्रिशुली अस्पताललाई दुई थान आइ.सी.यू. वेड उपलब्ध गराइ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेको ट्रष्टका महासचिव एवं नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले बाग्मती प्रेसलाई जानकारी दिए ।
पछिल्लो समय जिल्लामा कोभिड-१९ को नयाँ प्रजाति डेल्टा भेरियन्ट भेटिएको र संक्रमणको अवस्थामा अझ थप जटिल हुन सक्ने भएकाले सचेत रहन र आफू बचेर अरुलाई पनि बचाउन नेता केसीले अनुरोध गरे ।