काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन्। यद्यपी संसद् सचिवालयले सो को कार्यसूची भने सार्वजनिक गरिसकेको छैन।
सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।
संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्ति पाएको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
सोही व्यवस्था बमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका उनीनिकट व्यक्तिहरूले जानकारी दिएका छन्। पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज अपरान्ह चार बजे बस्दै छ।
सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी थिइन्।
सरकार गठनको अन्तिम संवैधानिक विकल्पबाट देउवा प्रधानमन्त्री बनेका हुन्। अब उनले विश्वासको मत नपाए प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्नसक्ने संवैधानिक व्यवस्था छ।